
जनसन्देश खवर संवाददाता
७ भाद्र २०८०, बिहीबार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउने बताउनुभएको छ ।
बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउने बताउनुभएको हो ।
उहाँले यसको निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणालीलाई पनि जनमानसमा अझ व्यापक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामी अत्यन्त जिम्मेवारीका साथ र पूर्वानुमानलाई अझ अनुमानयोग्य कसरी बनाउने, अझ भरपर्दो कसरी बनाउने रु पूर्व सूचना प्रणालीलाई अझ व्यापक कसरी बनाउने रु के हुँदैछ भन्ने कुरा आम जनताले बुझ्नसक्ने, थाहा पाउन सक्ने सबैले पूर्व जानकारी लिनसक्ने परिस्थितिको सुनिश्चित कसरी गर्ने र हाम्रो पूर्वानुमानलाई कसरी बढीभन्दा बढी व्यवहारिक र अझ बढी यथार्थपरक बनाउने भन्ने विषय नै चुरो कुरा हो ।
पूर्व सावधानीका लागि लिनुपर्ने कुराहरु त सरकारका विभिन्न संयन्त्रहरुले गर्ने कुरा त छदैछ यसैको आधारमा । हामी छलफल पनि गरिरहेका छौँ हाम्रो पूर्वानुमानलाई कसरी अझ भरपर्दो बनाउन सकिन्छ रु त्यसको निम्ति हामीले प्रविधिको क्षेत्रमा, हामीले प्रयोग गरिरहेका स्रोतहरुलाई अधिकतम प्रयोग गरेर हाम्रो अवस्था अनुकुल विश्लेषण गर्ने कुरा अझ जरुरी छ । यसको निम्ति चाहिने प्रविधि, जनशक्तिको कुरा, आवश्यक पर्ने तालिमको कुरा यो सबै बारेमा सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पुर्याउँछौ । हामी यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्रलाई अझ बढी यथार्थपरक बनाउनेगरी हामी काम अगाडी बढाउँछौँ । के गर्दा अझ बढी यथार्थपरक हुन सक्छ हाम्रो पूर्वानुमानहरु अध्ययन गर्नुस् भनेको छु ।’उहाँले कर्मचारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिनपनि आग्रह गर्नुभयो ।

जनसन्देश खबर । ७ भाद्र २०८०, बिहीबार १३:४१