
जनसन्देश सम्बाददाता
जाजरकोट, कार्तिक २ गते तद्नुसार अक्टोवर १९,२०२३
जाजरकोटमा एनआरएनए अष्ट्रेलियाको महिला फोरम को सहयोगमा महिलाहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिएको छ । जिल्लाको भेरी नगरपालिका ३ खलंगामा ३५ जना महिलाहरुलाई बिहीवार प्राथमिक उपचार तालिम दिइएको हो । एनआरएनए अष्ट्रेलियाको महिला फोरम को आर्थिक सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटको आयोजनामा तालिम सम्पन्न गरिएको हो ।
तालिममा सहभागि महिलाहरुलाई स्थानीय स्तरमा वा घरमै आइपरेको स्वास्थ्य सम्वन्धि समस्यालाई कसरी प्राथमिक उपचार गर्ने सम्वन्धि प्रशिक्षक द्धय नेपाल रेडक्रस सोसाइटी जाजरकोटका कोषाध्यक्ष राजेन्द्र कार्की र सीनीयर अहेव दलराज बिकले प्रशिक्षण गर्नु भएको थियो । सहभागिहरुलाई सैद्धान्तीक तथा व्यवहारीक रुपमा अभ्यास समेत गराइएको थियो ।

जसमा दुर्घटना तथा अन्य अवस्थामा आइपर्ने समस्याहरुलाई कसरी समाधान गर्ने विषयमा सहभागिहरुलाई प्रशिक्षीत गरिएको थियो । जस्तो रक्तस्राव रोक्न अपनाइने तरिका, महिनावारीमा आइपर्ने समस्याका वेला अपनाउनु पर्ने सतर्कता, वच्चाहरुलाई ज्वरो, झाडापखाला हुदाको अवस्था, त्यस्तै गर्भवती अवस्थामा अपनाउनु पर्ने सतर्कता आदी विषयवस्तु सिकाईएको थियो । त्यस्तै विपदको अवस्थामा कसरी प्राथमिक उपचार गर्ने जस्ता विषयमा सहभागिहरुलाई प्रशिक्षीत गरिएको थियो । त्यसै गरि स्थानीय स्तरमा कसरी बीरामीको उद्धार गर्न स्टेचर निर्माण गर्न समेत व्यवहारिक रुपमा अभ्यास गरायएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुनु भएकी भेरी नगरपालिकका नगर उपप्रमुख सीता जैशीले वर्तमान सन्दर्भमा महिलाहरुका लागि यो प्राथमिक उपचार तालिम निकै उपयोगी रहेकाले यस तालिमको आर्थिक सहयोग गर्नु हुने एनआरएनए अष्ट्रेलियाका महिला फोरम लाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । महिलाहरुनै घरको मुख्य अभिभावक हुने र घरमा नियमित हुने भएकाले महिलाहरुले सीकेको ज्ञान सवैका लागि उपयोगमा आउने उपप्रमुख जैशीको भनाई रहेको थियो ।

तालिम आफुहरुका लागि निकै सान्दर्भिक र उपयोगी रहेको भन्दै सहभागी मालीका शान्ति युवा क्लवकी सचिव यगुमाया थापाले आफुहरुका लागि निकै व्यवहारीक तालिम भएको भनाई राख्नु भएको थियो । हरेक स्थानमा आइपर्ने स्वास्थ्य समस्या, दुर्घटना, बीपत को समयमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने वारेमा व्यवहारीक ज्ञान प्राप्त गर्न पाएको बताउनु भयो ।
त्यसै गरि तालिमका सहभागि कालीका शान्ति युवा क्लव भेरी नगरपालिका ४ बोहोराका सदस्य .शिवा चन्दले प्राथमिक उपचार तालिम ले आफुहरुलाई अकालमा मृत्यूको मुखवाट वच्ने उपायाहरुका वारेमा ज्ञान प्राप्त गराएको भनाई राख्नु भएको थियो । आफुहरुका लागि यस्तो तालिमले आइपर्ने स्वास्थ्य समस्या लाई घरमै प्राथमिक उपचार गर्न सक्ने बनाएको चन्दको भनाई रहेको थियो ।
महिला स्वंसेविका एवं कोल्चौर आमा समुहका बीमला विकले आफ्नो दैनिक जिवनमा आइपर्ने विभिन्न बीपद, दुर्घटना आदीको वेला कसरी प्राथमिक उपचार गर्न सकीदो रहेछ भन्ने विषयमा तालिमले महिलाहरुका लागि महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
तालिममा युवा जागरण विकास केन्द्र नेपालका संयोजक सहदेव बस्नेतले वर्तमान परीवेसमा महिलाहरुका लागि यो तालिम निकै उपयोगी भएकाले तालिमको आयोजना गरिएको र यसको लागि आर्थिक सहयोग गर्नुहुने एनआरएनए अष्ट्रेलियाको महिला फोरम लाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

एनआरएनए अष्ट्रेलिया महिला फोरमका निबर्तमान संयोजक मन्जु खड्काले महिलाहरुका लागि प्राथमिक उपचार तालिम निकै उपयोगि हुने भएकाले यस तालिम सन्चालनको लागि आफुहरुले आर्थिक सहयोग गरेको बताउनु भयो ।

जनसन्देश खबर । ३ कार्तिक २०८०, शुक्रबार १२:३९