
जनसन्देश सम्बाददाता
जाजरकोट , जेठ २३ गते । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख देवका लामिछानेले जनताको गुनासो र सुझाव संकलन गर्न गाउँगाउँ पुग्ने अभियान थाली रहनु भएको छ। गत १६ मङ्सिरमा सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उनले पदभार सम्हाले यता नगरपालिकाका १३ वटै वडामा पुगेर जनताको आवाज सुन्ने अभियान लागीरहनु भएको हो ।
पालिकामा मात्र बस्दा स्थानीयको वास्तविक समस्या थाहा नहुने भएकाले गाउँमै पुगेर गुनासो र सुझाव संकलन गर्ने अभियान थालेको उपप्रमुख लामिछानेले बताउनु भयो। नलगाडका धेरै गाउँमा खानेपानी, बिजुली, स्वास्थ्य सेवा र यातायातजस्ता आधारभूत सेवा अभाव छ,’ उहाँले भन्नु भयो ‘पालिकामा बस्दा यस्ता समस्या देखिँदैन । त्यही भएर गाउँगाउँ पुगेर समस्या र सुझाव संकलनमा लागेको हो । अहिले गाउँका वास्तविक समस्या बुझ्न सकेको छु ।,’
जनगुनासोमा सबैभन्दा बढी खानेपानीको समस्या उठेको उहाँले बताउनु भयो। गत २०८० सालको कार्तिक १७ गते गएको भूकम्पपछि धेरै स्थानमा खानेपानीका मुहान सुक्दै गएकाले ग्रामीण बासिन्दा समस्यामा परेका गुनासो आएको उपप्रमुख लामीछानेको भनाई छ । यातायात सेवा अझै नपुगेका वडा नम्बर १२ र १३ का बासिन्दाले आफ्नै कार्यकालमा यातायातको पहुँचमा जोड्दिन आग्रह गरेको उहाँको भनाइ छ ।
‘१२ र १३ नम्बर वडामा अहिले पनि सडक पुगेको छैन,” उहाँले भन्नु भयो, ‘घरदैलोमा पुग्दा स्थानीयले सडकका लागि जोडदार आग्रह गर्नुहुन्छ ।,’ स्वास्थ्य संस्थाको अभावले सुत्केरी, जेष्ठ नागरिक र बालबालिकालाई ठूलो समस्या भएको गुनासो आएको उहाँको भनाइ छ । उपप्रमुख लामिछानेले नागरिकका यस्ता गुनासोलाई आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको छ । यसरी उपप्रमुखको नियमित जनता भेटघाटले गर्दा स्थानीय महिला तथा समस्यामा परेका व्यक्तिहरुलाई गुनासो तथा समस्या राख्न सहज भएको उनिहरुको भनाई रहेको छ ।



जनसन्देश खबर । २३ जेष्ठ २०८२, शुक्रबार ०९:५६