
सहदेव बस्नेत
जाजरकोट ,असार २० गते ।
जाजरकोट जिल्लामै पहिलो पोषणमैत्री वडा भेरी नगरपालिका–१३ घोषित गरिएको छ। नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि सो वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो। एक औपचारिक कार्यक्रमका विच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख काली वहादुर खत्रीले व्यानर पढेर सो वडालाई पोषणमैत्री वडा घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा समन्वय समिति उपप्रमुख दल वहादुर सिंह, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत समीर गौतम,राजनितिक दलका प्रतिनिधि, कार्यपालिका सदस्यहरु सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा वडा नं १३ भित्रका सवै सरकारी तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थिहरुको सहभागिताका साथै नाँचगान समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा पोषण मैत्री वनाउन को लागि भूमिका निभाउनु हुने सवैलाई सम्मान समेत गरिएको थियो ।
पोषणमैत्री वडाको घोषणाहुनका लागि पुरा गरेका ४९ वटा सूचकहरुका वारेमा भेरी नगरपालिकाका पोषण फोकल व्यक्ती कौशीला बटालाले पढेर सवैलाई जानकारी गराउनु भएको थियो ।कार्यक्रममा सहभागि अतिथिहरुले पोषणमैत्री वडाको घोषणा भएकोमा वडा तथा वडावासीलाई वधाईका साथै दीगोपनका लागि शुभकामना समेत दिएका थिए ।

सो अवसरमा भेरी नगरपालिका–१३ मा वडाको नवनिर्मित वडा कार्यालय भवनको समेतउद्घाटन गरिएको छ।
वडा कार्यालय भवन ७० लाख ७९ हजार ६ सय १७ रूपैया लागतमा निर्माण गरिएको हो । नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले गर्नुभएको हो। कार्यक्रमका प्रमुख अतिथि खत्रीले स्थानीय तहको सेवा प्रवाह जनमुखी र प्रभावकारी बनाउन भौतिक पूर्वाधारको निर्माण अपरिहार्य भएको उल्लेख गर्नुभयो।

वडा नम्बर १३ को कार्यालय संघीयता कार्यान्वयन भएयता भाडाको घरबाट संचालन हुँदै आएकोमा अब आफ्नै भवनबाट सेवा दिन थालिएको छ। भवन निर्माणसँगै सेवा प्रवाहमा थप सहजता हुने वडा अध्यक्ष यज्ञबहादुर बटालाले बताउनुभयो। उहाँले पोषणका सबै सूचक पूरा गर्न वडाबासीको सक्रिय सहभागिता मुख्य रहेको भन्दै आभार व्यक्त गर्नुभयो।

पोषणमैत्री वडा घोषणा र नयाँ भवनको उद्घाटनले सो वडालाई समावेशी, स्वस्थ र उत्तरदायी स्थानीय शासनतर्फ उन्मुख गराउने अध्यक्ष बटालाले बताउनु भयो ।
वडा न्ं १३ का अध्यक्ष यज्ञबहादुर बटालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीप वहादुर वलीले गर्नु भएको थियो ।


जनसन्देश खबर । २० असार २०८२, शुक्रबार ०६:०१