डोल्पा , साउन ३१ गते । आर्थिक वर्ष ०७९र८० मा डोल्पाबाट ५ क्विन्टलभन्दा बढी जडीबुटी यार्सागुम्बा निकासी भएको छ।
५ क्विन्टल ८५ किलो यार्सागुम्बा जिल्लाबाहिर निकासी भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९र८० मा जरिवानालगायत विविधबाट ३ लाख ६० हजार ३७३ रुपैयाँ, जडीबुटी र पर्यटनबाट २ करोड २४ हजार २६९ रुपैयाँ गरी जम्मा २ करोड ३ लाख ८४ हजार ६४२ रुपैयाँ निकुन्जले राजश्व उठाएको छ।
अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा ३५ प्रतिशत राजश्व बढी उठेको भण्डारीले बताए। निकुन्जले २४२ केजी यार्सागुम्बाको मात्र निकासीको अनुमति दिएको छ।
डिभिजन वन कार्यालयले ३४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जीबापत १ करोड ६४ लाख ८९५ रुपैयाँ उठाएको छ।
सेतक चिनी‚ कुटिक‚ पदमचाल‚ गुच्ची च्याउलगायतका अन्य जडीबुटीको छोडपुर्जीबाट ६ लाख ३९ हजार ५५५ रुपैयाँ गरी कुल १ करोड १२ लाख ८० हजार ४४७ रुपैयाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईंले जानकारी दिए। सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपैयाँ तोकेको छ।

जनसन्देश खबर । ३२ श्रावण २०८०, बिहीबार ०६:४२