
सहदेव बस्नेत
जाजरकोट, कात्र्तिक १८ गते । १ सय ५४ जनाको ज्यान जाने गरेर २०८० कात्तिक १७ गते मध्येराति गएको जाजरकोटकोट भूकम्पको आज ठिक २ वर्ष पुरा भएको छ । विडम्वना भूकम्प गएर घर वास विहीन भएका पीडितहरु हाल सम्म टिनको छानामै बस्न वाध्य भएका छन । जाजरकोटका सात वटा स्थानीय तहले अस्थायी आबासको लागि ४८ हजार ५ सय १६ जना लाभग्राही कायम गरेका थिए ।
जसमा हाल सम्म अस्थायि आवास निर्माणको लागि पहिलो किस्ता रकम ४१ हजार ७ सय ११ जना र दोस्रो किस्ता वापतको रकम ३५ हजार ५ सय ८३ जनाले प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी कार्यालय भवनहरूको पुनर्निर्माण नहुँदा पठनपाठन, उपचार सेवा र सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । जिल्ला प्रसाशन कार्यालय जाजरकोटका अनुसार २ सय ८९ विद्यालय पूर्ण र ५ सय ९८ विद्यालयमा आंशिक क्षति भएका थिए । त्यस्तै ९२ सरकारी कार्यालयमा पूर्ण क्षति र ६० सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा जाजरकोटका सभापति हरी बस्नेत सरकारको प्राथमिकतामा नपरेको हुदा पुनर्निर्माणको काममा अगाडी बढ्न नसकेको बताउनु हुन्छ । हिउँदको जाडो, टीनको छानामुनीबाट चुहिने शीत थापाले निर्थुक्क भिजेका कपडाहरु दैनिक निचोरेर प्रयोग गर्नुपर्ने अबस्था रहेको बस्नेतको गुनासो छ ।
सरकारी कार्यालय निर्माणका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्थापना भएको छ । डीडीए गर्नका लागि प्राधिकरणले जिल्लामा सम्पर्क कार्यालय स्थापना गरेता पनि त्यसले कुनै प्रभावकारी काम गर्न नसकेको पीडितहरुको गुनासो रहेको छ ।
सरकारको ढिलासुस्ती र उदासीनताले भूकम्प पीडितको अवस्था दिनप्रति दिन कष्टकर बन्दै गइ रहेको छ । गत वर्षको हिउँदमा चिसो थेग्न नसक्दा गत वर्ष जाजरकोट र रुकुमपश्चिममा त्रिपालमै ४३ जनाको ज्यान गएको थियो। । त्यस्तै बर्षादका बेला टहरामा पहिरो खस्दा जाजरकोटमा ७ र रुकुमपश्चिममा ३ जनाको ज्यान गुमाउनु परेको थियोे ।
नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले समयमै पुर्ननिर्माण को कार्य अगाडि नवढाउनु नागरिकहरुको वाँच्ने अधिकारमा राज्यले वेवास्ता गरेको बताउनु भयो ।

त्यस्तै भेरी नगरपालिका १ कोल्चौरका उदयराम कामी आफ्नो भत्केको घर पुर्ननिर्माण हुनेमा विश्वस्त हुन सक्नु भएको छैन । एकै घरमा आफ्नो परीवारका ६ जना सदस्य भूकम्प वाट गुमाउन पुगेका उदय पनि सकरकारले स्थायि आवास बनाइदिने प्रतिक्षामा आसा मर्दै गइरहेको बताउनु हुन्छ । कारितास नेपाल र यार्सन जाजरकोटले निर्माण गरिदिएको अस्थायि आवासमै आफ्नो दैनिक गुजारा चलिरहेको उदय बताउनु हुन्छ ।
भर्खरै भएको जेन्जी आन्दोलनका क्रममा भएको क्षतिलाई हेदा झनै यहाँका नागरिकहरुमा स्थायि आवास निर्माण हुनेमा चिन्ता र त्रास परेको छ । सरकारको ध्यान तथा प्राथमिकता नपाउने होकी भन्ने चिन्तामा यहाँका अधिकाँस नागरिकहरुको रहेको छ ।

भूकम्पको कारण क्षतिग्रस्त भएका निजी आवासमध्ये विस्तृत क्षति आँकलनको कार्य भएता पनि सवै भूकम्प पीडितहरुको हुन सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हाल सम्म २६ हजार ९सय ८९ घर धुरीको क्षतिग्रस्त भएका निजी आवासमध्ये विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भएको छ ।

जाजरकोट भूकम्प पीडितहरुका स्थायि आवास निर्माणका लागि जाजरकोटमा सम्झौता सुरु भएको छ । भेरी नगरपालिका ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवासको विस्तृत क्षति आँकलन गरेर पठाएका लाभग्राहीहरुको सम्झौता प्रक्रिया अगाडि वढाएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रशाद पौडेलले स्थानीयतह वाट सम्झौता भएर आएका लाभग्राहीहरुका लागि जिल्ला विपपद व्यवस्थापन समितिको वैठक बसेर रकम माग गरिएको बताउनु भयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवासको विस्तृत क्षति आँकलन गरेर आएको विवरण अनुसार पुर्ननिर्माणको प्रक्रीया अगाडि वढ्ने बताउनु भयो । त्यस्तै हाल सम्म भेरी नगरपालिकाले सम्झौता गरेर पठाएका ६ सय ४१ जना लाभग्राहीहरुको स्थायी आवासको पहिलो किस्ता रकम माग गरिएको प्रजिअ पौडेलले बताउनु भयो ।


जनसन्देश खबर । १८ कार्तिक २०८२, मंगलवार १३:५७