
सहदेव बस्नेत
जाजरकोट, पुस २१ गते । राष्ट्रिय प्रकृति संरक्षण कोषले ‘कर्णाली प्रदेशका वन तथा वन–निर्भर समुदायको जीविकोपार्जन र क्षमता सुदृढीकरणमार्फत जलवायु उत्थानशीलता परियोजना’ सञ्चालन गर्न लागेको छ ।
जाजरकोट सदरमुकामखलङ्गामा आयोजित सरोकारवाला परामर्श तथा अभिमुखीकरण बैठक मा उक्त कुराको जानकारी गराईएको हो । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख श्री काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, फेकोफन ,, नेफिन , विभिन्न गैरसरकारी संस्था तथा सरकारी कार्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वातावरण तथा सामाजिक सुरक्षा विज्ञ कृष्णप्रसाद घिमिरेले परियोजनाबारे विस्तृत प्रस्तुति दिनुभयो । घिमिरेले जानकारी गराए अनुसार परियोजना जुम्ला, डोल्पा, जाजरकोट र दैलेख जिल्लाका ३१ वटा स्थानीय तहमा चार वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको कुल बजेट करिब १० मिलियन अमेरिकी डलर रहेको छ र जसमध्ये ०।७ मिलियन अमेरिकी डलर सहलगानी रहने बताइएको छ । ग्रीन क्लाइमेट फन्ड ९न्ऋँ० को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यस परियोजनाले वन तथा वन–निर्भर समुदायको जीविकोपार्जन सुदृढीकरण गर्दै जलवायु अनुकूलन र उत्थानशीलता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
घिमिरेका अनुसार परियोजना चार जिल्लाका करिब ८ लाख ६१ हजार हेक्टर क्षेत्रफलमा कार्यान्वयन हुनेछ । परियोजना कार्यान्वयनपछि वन क्षयीकरणमा कमी आउने, कार्बन उत्सर्जन न्यूनीकरणमा करिब १० प्रतिशत योगदान पुग्ने र स्थानीय समुदायको जलवायु अनुकूलन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि धिरेन्द्रबहादुर शाहीले गर्नुभएको थियो भने स्वागत मन्तव्य विजय डल्लाकोटीले दिनुभएको थियो । स्वागत मन्तव्यका क्रममा डल्लाकोटीले परियोजना विकास र कार्यान्वयनमा स्थानीय सरकारको सक्रिय सहभागिता र सामूहिक स्वामित्व अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले सबै सरोकारवालाबीच सहकार्य, पारदर्शिता र साझा उत्तरदायित्व कायम भएमा मात्र परियोजना प्रभावकारी र दिगो रूपमा सफल हुने उल्लेख गर्नुभयो ।
बैठकमा भेरी नगरपालिकाका प्रमुख श्री चन्द्रप्रकाश घर्तीले आफ्नो धारणा राख्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले कर्णाली प्रदेशमा जलवायु उत्थानशीलता प्रवर्धनका लागि थालेको पहल सराहनीय रहेको बताउनुभयो । उहाँले परियोजना स्थानीय आवश्यकता र प्राथमिकतासँग मेल खाने भएकाले यसको परियोजना तर्जुमा तथा कार्यान्वयनका सबै चरणमा भेरी नगरपालिकाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन मन्तव्यमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख श्री कालीबहादुर खत्रीले सहभागी सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै परियोजना कर्णाली प्रदेशका लागि समयसापेक्ष र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिको तर्फबाट स्थानीय तह, सरोकारवाला संस्था र परियोजना कार्यान्वयनकर्ताबीच समन्वय तथा सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै परियोजना सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
बैठकमा सहभागी सरोकारवालाहरूले जाजरकोटसहित कर्णाली प्रदेशका स्थानीय तहहरू जलवायु परिवर्तनबाट समान रूपमा प्रभावित रहेको उल्लेख गर्दै विशेषगरी वनमा आधारित जीविकोपार्जन गर्ने समुदाय, महिला, दलित तथा सीमान्तकृत समुदाय बढी जोखिममा रहेको धारणा व्यक्त गरेका थिए । त्यसैले परियोजना कार्यान्वयनमा स्थानीय तह, समुदाय र विकास साझेदारबीच घनिष्ठ समन्वय आवश्यक रहेकोमा जोड दिइयो ।
यस्तो अवस्थामा सञ्चालन हुन लागेको यो परियोजनाले जाजरकोटसहित समग्र कर्णाली प्रदेशमा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नयाँ आशा जगाएको सरोकारवालाहरूको विश्वास छ । जलवायु परिवर्तनको चुनौती गम्भीर भए पनि स्थानीय समुदाय, सरकार र साझेदार संस्थाबीच प्रभावकारी सहकार्य हुन सके हिमाली तथा पहाडी जिल्लाहरूलाई सुरक्षित, सक्षम र दिगो भविष्यतर्फ डोर्याउन सकिने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरू जलवायु परिवर्तनको उच्च जोखिममा परिरहेका छन् । हिमतालको हिउँ पग्लिनु, अनियमित वर्षा, पानीका स्रोत सुक्दै जानु र खाद्य असुरक्षा जस्ता समस्याले यहाँका समुदायको जनजीवन र जीविकोपार्जनमा गम्भीर असर पारिरहेको छ ।
कार्यक्रममा सहभागिहरु लाई ३ वटा समुहमा विभाजन गरेर समुह कार्य गराई प्रस्तुति ुमेत गरिएको थियो ।

जनसन्देश खबर । २२ पुष २०८२, मंगलवार ०८:१४