
सहदेव बस्नेत, जाजरकोट,चैत ९ गते।
दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको छ । ‘’अर्थतन्त्र मापनको लागि आर्थिक गणना’’ भन्ने नारासहित राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म रहने गरी देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको हो । गणनाको कार्यको लागि २०८३ वैसाख २ गतेदेखि असार ७ गतेसम्म स्लगत तथ्याङ्क संकलन गर्ने कार्यतालिका रहेको कार्यालयले जानकारी दिएको छ ।
पहिलो आर्थिक गणना यस अघि २०७५ सालको वैशाखमा भएको थियो । दोस्रो आर्थिक गणनाका लागि देशभर ५ हजार गणकहरु नियुक्त गरिँदैछ । गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था संकलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने योजना रहेको जिल्ला आर्थिक गणना अधिकारी शैलेन्द्र पुनले जानकारी दिनु भयो ।

मूल्यवृद्धि रोजगारीको स्थिति, अवसरदेखि जनशक्तिको आवश्यकता र भविष्यमा गर्ने तमाम कामका लागि आर्थिक गणनाले सूचना दिनेछ । यसको विश्लेषणबाट राज्यले आगामी दिनमा लिने नीतिहरु निर्माण गर्नका लागि सहज हुनेछ । कृषि तथा वन, खानी तथा उत्खनन, उत्पादन, निर्माण, थोक तथा खुद्रा व्यापर लगायतका विभिन्न १८ वटा क्षेत्रको आधारभुत विवरण संकलन गरिनेछ । कार्यालयकाअनुसार गणनाका लागि चैत मसान्त सम्म पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न हुनेछन् । तथ्यांक संकलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरीवेक्षक स्थलगत रूपमा खटिनेछन् ।
त्यस्तै जिल्ला स्तरमा जिल्ला प्रशासन काार्यलय जाजरकोटमा आज प्रजिअ राजु प्रशाद पौडेलको अध्यक्षतामा बैठक वसी विविध निर्णय गरिएको छ । कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी शैलेन्द्र पुनले आर्थिक गणना कार्य वारे जानकारी गराउनु भएको थियो । यस कार्यलाई सहयोग गर्न सवै पक्षको सहयोगको अपेक्षा राखेको प्रमुख पुनले जानकारी दिनु भयो ।

जनसन्देश खबर । १० चैत्र २०८२, मंगलवार ०७:३८