जाजरकोटमा शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुले गरे ४६ बुँदे सामुहिक प्रतिवद्ता

सहदेव बस्नेत
जाजरकोट, चैत ११ गते । जाजरकोटमा शैक्षिक सुधारका लागि जिल्ला भरका प्रधानाध्यापक हरुले सामुहिक प्रतिवद्धता जनाएका छन । शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटको आयोजनामा सम्पन्न शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी सरोकारवालाहरु विचको अन्तरक्रिया कार्यक्रमपछि प्रधानाध्यापकहरूले सामूहिक रूपमा ४६ बुँदे प्रतिबद्धता जनाएका छन् ।


एसईई लगायत सबै परीक्षाको नतिजा सुधार गर्ने, विद्यालय व्यवस्थापन सुदृढ बनाउने र सिकाइको गुणस्तर उकास्ने स्पष्ट लक्ष्यसहित गरिएको यो प्रतिबद्धताले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको छ । कार्यक्रममा बोल्द शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख यज्ञश्वर खत्रीले अब केवल योजना बनाउने समय सकिएको र परिणाम देखाउने समय आएको भनाई राख्नु भएको थियो । “हामीले वर्षौँदेखि समस्या चिन्दै आएका छौं, तर अब समाधान कार्यान्वयन गर्ने समय हो । यो प्रतिबद्धता कागजमा सीमित हुनु हुँदैन, कक्षाकोठामा देखिनुपर्छ,” इकाइ प्रमुख यज्ञश्वर खत्री को भनाई थियो । उहाँले शिक्षक, विद्यालय र स्थानीय तहबीच समन्वय बढाउँदै जिम्मेवारीपूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो।
शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रा.स. तिलक भट्टराइले ४६ बुँदे प्रतिवद्धतामा अनुसार विद्यालयहरूले अब अघिल्लो नतिजाको विश्लेषण गर्दै सुधारका लागि योजनाबद्ध काम गर्नेछन् । अतिरिक्त कक्षा, कोचिङ, मोडल टेस्ट, अनलाइन सिकाइ र निरन्तर मूल्यांकनलाई प्रभावकारी बनाइनेछ ।
प्रतिवद्धतामा परीक्षा प्रणालीलाई मर्यादित बनाउन मोबाइल निषेध, चिटिङ नियन्त्रण र ७५ प्रतिशत हाजिरी अनिवार्य गर्ने कडाइसमेत लागू गरिनेछ । विद्यालयभित्र स्पष्ट जिम्मेवारी बाँडफाँड, शिक्षक क्षमता विकास, वार्षिक योजना निर्माण र कार्यान्वयनमा जोड दिइनेछ । साथै सरसफाइ, पूर्वाधार सुधार र स्थानीय स्रोतको उपयोग मार्फत विद्यालय वातावरणलाई व्यवस्थित बनाउने लक्ष्य लिइएको छ ।
त्यस्तै नयाँ पाठ्यक्रम कार्यान्वयन, आईसिटी प्रयोग, शिक्षण सामग्रीको प्रभावकारी उपयोग, विद्यार्थीको प्रतिभा पहिचान र प्री सिकाई जस्ता अभ्यासलाई विस्तार गरिनेछ ।
यसै गरि सेनिटरी प्याड उपलब्धता, दिवा खाजा व्यवस्थापन, गुनासो सुनुवाइ, समयमै पाठ्यपुस्तक वितरण र इमिस प्रणाली अद्यावधिक गर्ने कामहरूलाई प्राथमिकतामा राखिएको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रशाद पौडेलले जिल्लामा परिक्षाा प्रणाली कमजोर भएको गुनासो आएकोले एसइइ परिक्षामा अमर्यादित पाएको खण्डमा परिक्षर्थि र निरीक्षक मात्र हैन केन्द्राध्यक्षलाई समेत निस्कासन गरिने चेतावनी दिनु भएको छ । कार्यक्रममा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले जिल्लाको शैक्षिक सुधारका विभिन्न पक्षमा औंल्याउनु भएको थियो । त्यसै गरि शिक्षक महासँघ लगायत विभिन्न शिक्षक पेशागत संगठन तथा प्रधानाध्यापकहरुले पनि आआफ्नो धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया