
जनसन्देश सम्बाददाता
जाजरकोट , कात्तिक ३० गते । जाजरकोटमा पीकनीक खानाँ गएका एक युवक भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा भेरी नगरपालिका ३ पिपलडाँडा निवासी गोपाल वहादुर शाहका का छोरा अन्दाजी ४३ वर्षीय बबी शाह रहेका छन । भेरी नगरपालिका १ छोटेबगरस्थित भेरी नदीमा सोमबार पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार शाह पिकनिक खान छोटेबगर पुगेका बेला आज दिउँसो करिब १२ बजे नदीमा पौडी खेल्ने क्रममा बगेका थिए। उनीसँगै पिकनिक खान गएका डिल्ली रावलले दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय रिम्नामा फोनमार्फत जानकारी गराए पछि घटना वारे थाहा भएको हो ।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्रबहादुर रानाको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको थियो।
बेपत्ता शाहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक विवेक रसाइलीको कमाण्डमा ८ जना, अस्थायी प्रहरी पोस्ट रावतगाउँबाट प्रहरी सहायक हवल्दार ओमप्रकाश वलीको कमाण्डमा २ जना तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर जाजरकोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक बमबहादुर बुढाको कमाण्डमा ७ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी बुद्धिसागर पुरीले बेपत्ता शाहको खोजी कार्य भइरहेता पनि हाल सम्म फेला पार्न नसकिएको जानकारी दिनुभयो ।

जनसन्देश खबर । १ मंसिर २०८३, सोमबार १४:५७