जनसन्देश सम्बाददाता ।
जाजरकोट, असोज १५ गते ।
जिल्ला अस्पताल जाजरकोटको नव निर्मित पचास सैयाको भवन उद्घाटन गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले एक समारोहका विच सदरमुकाम खलंगा स्थित थाप्लेचौरमा निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको उद्घाटन गर्नु भएको हो ।
हामीले भौतिक पुर्वाधार बनायौ अव हामी जनशक्ति ब्यवस्थापनको काममा लाग्छौ मन्त्री बस्नेतले भन्नु भयो, स्वास्थ्य मन्त्री र सचिव सँग कुरा भएको छ । फेरी पनि म काठ्मान्डौ फर्केपछि कुरा गर्छु । विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणका लागि तत्काल पहल गछौ । यसै अस्पतालबाट भरपर्दो सेवा दिने गरि काम गछौ । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु ।’
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संघिय सरकार सँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गरिने बताउनु भयो । कार्यक्रममा जाजरकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर प्रतिक्षा भारती र अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले अस्पतालमा रहेका समस्या र प्रगति पेश गरेका थिए । भौतिक पुर्वाधार सुविधा सम्पन्न भएपनि जनशक्ति ब्यवस्थापन चुनौतिपुर्ण रहेको स्वास्थ्य सेवा ब्यवस्थापक भारतीले बताउनु भयो । दुर्गममा आएर काम गर्न विशेषज्ञ चिकित्सकले नमान्दा समस्या हुने गरेको उहाँको भनाई थियो । सवै विशेषज्ञ चिकित्सक ल्याउन नसकेपनि कल्सल्टेन्ट ल्याएर सामान्य खालका सर्जरीका काम गर्न सकेपनि ठुलो उपलब्धी हुने उहाँको भनाई छ । यद्यपी पहिलेको तुलनामा अस्पतालको सेवा प्रवाह राम्रो हुँदै गएको डाक्टर भारतीको भनाई छ । कार्यक्रममा संघिय साँसद मैना कार्की रावल, पुर्व मन्त्री सत्या पहाडी, जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री, राजनैतिक पार्टीका प्रतिनिधी लगायतले अस्पतालको सेवा प्रभाव सुधारका लागि शुभकामना दिएका थिए ।

जनसन्देश खबर । १६ आश्विन २०८०, मंगलवार ०८:१०