जनसन्देश सम्बाददाता ।
जाजरकोट , असोज १६ गते । । कर्णाली प्रदेशका १० वटै जिल्लामा काम गर्ने गरी सिंचाई तथा नदी ब्यवस्थापन आयोजना कार्यालय जाजरकोटमा स्थापना गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आइतवार एक कार्यक्रमका वीच खलंगामा उक्त कार्यालयको उद्घाटन गर्नु भएको हो ।
भेरी नगरपालिका ४ खलंगामा स्थापना गरिएको सो कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कर्णाली प्रदेशमा सिंचाई सुविधा पुरयाउन, ठुला साना नदीको ब्यवस्थापनमा क्षेत्रगत रुपमा काम गर्ने बताए । सिंचाई सुविधा नपुगेका कर्णालीका नदी आसपास र अन्य बाँझा जमिनमा सिंचाई सुविधा पुरयाई उत्पादकत्व बृद्धि गर्ने गरी काम अघि बढाउन आयोजना कार्यालयलाई निर्देशन दिनु भएको छ । उहाँले कृषि मन्त्रालय संग समन्वय गरेर सिंचाई र उत्पादनको क्षेत्रमा काम गर्ने गरि तयारी गरिएको बताउनु भयो ।
कार्यक्रममा संघीय प्रतिनिधी सभा सदस्य मैना कार्की रावल, पुर्व मन्त्री सत्या पहाडी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, भेरी नगरपालिकाका नगरप्रमुख सिपी घर्ती, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार लगायतले कर्णालीको समग्र विकासमा आयोजना कोसे ढुङ्गा सावित हुने बताउनु भएको थियो। दुर्गम जाजरकोटमा प्रदेशभरी हेर्ने गरि कार्यालय स्थापना हुनु जिल्लाको लागि गौरबको कुरा भएको वक्ताहरुको भनाई थियो । कार्यालय प्रमुख कृष्ण डुम्राकोटीले सरकारले दिएको निर्देशन, कार्यालयको कार्यक्षेत्र र बजेटको सिमा भित्र रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । ।

जनसन्देश खबर । १६ आश्विन २०८०, मंगलवार ०८:३१