
जाजरकोट समचारदााता ।
जाजरकोट, माघ ३ गते । जाजरकोट अस्पतालमा सेवा करारमा आउने विशेषज्ञ चिकित्सकलाई मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको विज्ञापन अनुसार जाजरकोट अस्पतालमा आउने विशेषज्ञ चिकित्सकलाई अस्पताल विकास समितिले मासिक एक लाख प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो ।
मन्त्रालयले प्रदेशका ९ वटा जिल्लाको लागि गत पुस १८ गते सेवा करारमा नवौं तहका विशेषज्ञ चिकित्सकहरुको लागि विज्ञापन निकालेको छ । जाजरकोट अस्पतालको लागि मन्त्रालयले नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, मागेको छ । त्यस्तै कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारको लागि विज्ञापन गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले मन्त्रालयले गरेको उक्त विज्ञापनमा जाजरकोट अस्पतालमा आउने नवौं तहका सबै विशेषज्ञ चिकित्सकलाई मासिक एक लाख भत्ता दिने व्यवस्था गरिएको जानकारी दिनु भयो ।
विशेषज्ञ चिकित्सकहरुलाई आकर्षित गर्न अस्पताल विकास समितिले प्रोत्साहन भत्ता स्वरुप प्रतिचिकित्सकलाइ प्रति महिना एक लाख भत्ताको व्यवस्था गरिएको अस्पताल विकास अध्यक्ष सिंहले जानकारी दिनु भयो । सेवा करारमा सामाजिक विकास मन्त्रालयले जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सकहरु पठाएपछि अस्पतालले दिदै आएका सेवाहरु विस्तार हुने अस्पताल विकास समितिले जनाएको छ ।
५० शैयाको भौतिक संरचना निर्माण हुनुको साथै प्रयोगमा आएता पनि ५० शैयाको अस्पतालले दिनुपर्ने सेवाहरु विस्तार हुन सकेको थिएन । अस्पताका प्रमुख डा. प्रतीक्षा भारतीले दक्ष जनशक्तिको अभावमा संचालनमा आउन नसकेका सेवाहरुलाई तत्कालै संचालनमा ल्याउन अस्पताल लागि परेको बताउनु भयो ।

जनसन्देश खबर । ३ माघ २०८०, बुधबार १५:४७