भुक्तानीमा एक महिना लाग्ने बैकले सुचना जारी गरेपछि स्थानिय आक्रोशित

जनसन्देश समबाददाता ।
जाजरकोट, माघ ५ गते । अस्थायी आवासको रकम भुक्तानी गर्न बैंकले एक महिना लाग्ने भनेर सुचना जारी गरे पछि यहाँका लाभग्राही आक्रोशीत बनेका छन । शिवालय गाँउपालिकामा रहेको एक मात्र हिमालयन बैक लिमिटेडलेसार्वजनिक सुचना प्रकाशित गर्दै भुकम्प पिडितको अस्थायी आवासको पहिलो किस्ता रकम भुक्तानी लिन अझै करीब एक महिना कुर्नु पर्ने जनाएको छ ।
सरकारले भुकम्प पिडितलाई अस्थायी आवासका लागि दिने भनेर पालिकाको खातामा पठाएको रकम पाएपछि अस्थायी घर बनाउँला भनेर कुरेर बसेका पिडित परिवारहरु बैकको ढिलासुस्तीले हैरान भएका छन् । सहज तरीकाले अनुदान रकम वितरण गरेर छिटोभन्दा छिटो अस्थायी आवासमा सार्ने सरकारी योजना बैकहरुको ढिलासुस्तीले गर्दा अलपत्र परेको छ । रकम वितरणमा एक महिना लाग्ने भन्दै बैकले सार्वजनिक सुचना गरेपछि स्थानिय लाभग्राही आक्रोशित भएका छन् ।
यस अघि सामाजिक सुरक्षा खाता अन्य प्रयोजनमा प्रयोग गर्न नमानेका कारण धेरै लाभग्राही भुकम्प पिडितले अस्थायी आवासकै अनुदान लिनका लागि पुनः खाता खोल्न बाध्य भएका थिए । केही समय पहिले खाता खोल्न पनि ठुलो समस्या भोगेका स्थानियले खाता खोलेर पालिकाले बैक खातामा पहिलो किस्ताको रकम पठाईसक्दा पनि अझै एक महिना कुर्न पर्ने भएको छ ।
बैकको सुचनामा माघ ५ गते देखि माघ २९ गते सम्म रकम वितरणमै समय लाग्ने बैंकको सुचनामा उल्यख गरिएको छ । ३ हजार ३ सय ९ लाभग्राही मध्य ३ हजार १ सय ४७ लाभग्राहीको खातामा रकम गईसकेको छ तर अहिले सम्म कसैले रकम पाउन सकेका छैनन् ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर बस्नेतले हिमालयन बैंकले गरेको सुचना निकै लापरवाही र गैर जिम्मेवार भएको बताउनु भयो । एक महिना लामो कार्यतालिकाले समस्या सल्टिने होइन बल्झिने बस्नेतले आक्रोस व्यक्त गर्नु भयो ।
बैकका प्रवन्धक सन्दीप हमालले बैकको प्राविधिक समस्या र आवश्यक प्रक्रिया मिलाउन समय लागेका कारण रकम वितरणमा ढिलाई भएको स्वीकार गर्नु भयो । करीब एक हजार लाभग्राहीले नयाँ खाता खोलेका र खाता खोल्नका लागि सवै डकुमेन्ट स्क्यान गरेर केन्द्रमा पठाउनु पर्ने केन्द्रबाट स्वीकृती भएपछि मात्र खाता कायम हुने हमालले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया