जनस
न्देश सम्बाददाता ।
जाजरकोट, माघ ५ गते । जाजरकोटको जुनीचाँदेमा एक महिना देखि औषधि अभाव भएता पनि हाल सम्म आपुर्ति हुन सकेको छैन । जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनिसा रावत भुकम्प पछि त्रिपालको बसाईका कारण रुघाखाकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानिय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निरास भएर घर फर्कनु पर्यो । त्यहाँ उहाँले स्वास्थ्य परीक्षण गर्राता पनि निशुल्क दिनुपर्ने जीवनजल र सिटामोल समेत स्वास्थ्य संस्थामा नपाउँदा मनिसा रित्तो हात फर्कन बाध्य हुनु भयो ।
उनी जस्तै चिसोले धेरैलाई विरामी पारेको बेला जुनीचाँदे गाँउपालिकामा औषधी अभाव हुँदा स्थानियलाई निकै समस्या परिरहेको छ । लामो समय विति सक्दा पनि औषधीको आपुर्ती हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोल समेत पाइदैन ।
भुकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुुनीचाँदे गाँउपालिकाका बासिन्दा विरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या लिएर विरामीहरु स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा विरामी रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे ५ का कुलराज शाहीले बताउनु भयो ।
चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दम लगायतका विरामीको संख्या बढिरहेको छ तर औषधी छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिना देखि औषधी विहिन छन् । यस आर्थिक बर्षमा औषधी आपुर्ती हुन सकेको छैन । साउन यता पालिकाले औषधी खरीद गरेको छैन भने संघ र प्रदेश सरकारले पनि औषधी पठाएको छैन ।
औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयमले बताउन थालेका छन । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको स्वासप्रस्वास सम्बन्धि समस्या बढ्दै गएको भएपनि औषधी नहुँदा उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले बताउनु भयो ।
चिसोले सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित भएका छन् । औषधी नहुँदा कतिपय विरामीहरु स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेको जुनीचाँदे गाँउपालिका १ बड्कुले स्वास्थ्य चौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले बताउनु भयो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले औषधि अभावको समाचार सँगै केही समय अघि जिल्लामा स्टक औषधी पठाईएको बताउनु भयो । जुनीचाँदे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बलबहादुर शाहीले औषधी दुई हप्ता सम्म पनि पालिकामा नुपुगेको बताउनु भयो

जनसन्देश खबर । ५ माघ २०८०, शुक्रबार २०:३६