रेडक्रसले दियो १६२३ परिवारलाई नगद सहायता

जनसन्देश सम्बाददाता
जाजरकोट, फागुन ८ गते ।
नेपाल रेडक्रस सोसाईटीले जाजरकोटका भुकम्प पिडित एक हजार ६ सय २३ परिवारलाई नगद सहायता प्रदान गरेको छ । रेडक्रसको अन्र्तराष्ट्रिय महासंघ ९आइएफआरसी०को सहयोगमा भेरी नगरपालिकाका वडा नम्बर १, २ र ३ मा प्रतिपरिवार १५ हजारका दरले २ करोड ४० लाख नगद सहायता प्रदान गरिएको हो । विपदको वेला पिडितहरुको आधारभुत आवश्यकता परिपुर्तीका लागि नगद रकम प्रदान गरिएको कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम जाजरकोटका कार्यक्रम संयोजक प्रकाश कार्कीले जानकारी दिनु भयो । नेपाल रेडक्रसक सोसाईटीका जिल्ला सभापित हरी बस्नेतले भेरी नगरपालिका वडा नं। १ मा ६ सय ३३, वडा नं। २ मा ६ सय ९० र वडा नं। ३ मा ३ सय गरी जम्मा एक हजार ६ सय २३ घरपरिवारमा प्रतिपरिवार १५ हजारका दरले बहुउदेश्य नगद सहयोग गरेको बताउनु भयो। ३ सय परिवारका लागि नगद सहायता प्रदान गर्ने गरि रकम थप भएर आएको बस्नेतको भनाई छ । उक्त नगद सहायता वडा नम्बर ४ सम्म विस्तार गरिने भएको छ ।

अनुसार जिल्ला विपद न्युनिकरण तथा ब्यवस्थापन समितिले रेडक्रसको कार्य क्षेत्र भेरी नगरपालिका तोकेको र नगरपालिकाले भेरीका वडा नम्बर १, २ र ३ तोकेपछि भुकम्प पिडितहरुका लागि विभिन्न सहायताका कार्यक्रम संचालन भैरहेका छन् । भेरीको वडा नम्बर १ मा २ सय ५० अस्थायी आवास निर्माण गरिएको छ । त्यस्तै वडा नम्बर ३ मा एक सय अस्थायी आवास निर्माण भएका छन् । ति परिवारका लागि अस्थायी आवासमा ५० हजार, १५ हजार शौचालय, ७ हजार खानेपानी ट्यांकी र १५ हजार बहुउद्देश्यीय नगद सहायता गरि ८७ हजारको प्याकेज रहेको सभापति बस्नेतको भनाई छ । अस्थायी आवास निर्माणको ९७ प्रतिशत काम सम्पन्न भैसकेकोले केही दिन भित्रै दोस्रो किस्ता रकम प्रदान गरिने बस्नेतको भनाई छ । लाभग्राहीलाई गरिने सवै सहयोग उनीहरुको बैक खाता मार्फत भैरहेको छ ।
९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस महासंघको आर्थिक सहयोगमा कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम संचालन गरेको नेपाल रेडक्रस सोसाईटीले जाजरकोट जिल्लाका सात पालिका र ७७ वटा वडाहरुको भुकम्पीय क्षेतीको द्रुत सर्वेक्षण, विस्तृत क्षतिको सर्वेक्षण गरेको छ । गैर खाद्य सामग्री अन्र्तगत टेन्ट, त्रिपाल, ब्लाङकेट, विस्तरा, डोरी, बाल्टिन, किशोरी किट, सरसफाइ सम्बन्धिका सामाग्री, सोलार बत्ति लगाएतका १२ प्रकारका ४ करोड ४५ लाख ८५ हजार लागतको राहत सामाग्री वितरण गरेको नेपाल रेडक्रस जाजरकोट शाखाका मन्त्री धिरेन्द्र शाहले बताउनु भयो ।

“कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” को नाम बाट संचालित जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा पहिलो चरणमा ९ महिना सम्म विभिन्न कार्यक्रम संचालन गरिने भएको छ । पुर्ननिर्माणमा समेत काम गर्ने गरि काम अघि बढाईएको छ । हाल अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको, शौचालय, खानेपानी, स्वास्थ्य सरसफाई लगायतका कार्यक्रम निरन्तर रुपमा संचालन भैरहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कोषाध्यक्ष राजेन्द्र कार्कीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया