तीस बर्षपछि हर्क वहादुर घर फर्कदा परिवारमा खुसीयाली

 

 

जनसन्देश समाचारदाता
जाजरकोट, चैत १५ गते । जिल्लाको भेरी नगरपालिका‒१ रावतगाउँका एक बाबुछोराको तीस बर्षपछि भेट भएको छ । रावतगाउँका ८५ बर्षिय नदे कामी र उहाँका ५५ बर्षका छोरा हर्कबहादुर कामी वीच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस बर्ष पहिले वेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए ।
भारतको कोलकताको एउटा अस्पतालमा उपचाररक्त रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्ज गणेश महरले बताउनु भयो । ‘मामा कोलकतामा उपचार गराईरहनुभएको रहेछ, सन २०१५ देखि मामा अस्पपालमा भर्ना हुनुभएको रहेछ, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भयो गणेशले भन्नु भयो।’
गणेश हर्कलाई लिन भारतको कोलकता समेत जानु भएको थियो । भारतदेखि गणेश सहयोगी बनी घर फर्कने भन्ने सूचना पाएपछि गाउँभरीका आफन्तहरु हातमा माला र टिका लिएर बसिरहेका थिए ।
तीस बर्षपछि छोरा सँग भेट्न पाएपछि बाबु नदे कामीले आँखा बाट आसु खसालिरहनु भएको थियो। ‘मलाई लागेकै थिएन छोरा सँग भेटघाट हुन्छ भन्ने, उहाँले भन्नु भयो, ‘हामी कहिल्यै भेट्न सक्दैनौ होला जस्ता लागेको थियो, आज भगवानको कृपाले छोरा सँग भेटभयो ।’
उमेरले आठ दशक भन्दा बढी काटिसकेका नदे कामीले छोरा घर फर्केपछि खुशीयालीको आँसु रोक्न सक्नु भएको थिएन । नदेका पाँच छोरीहरु र एउटा मात्रै छोरा हर्क बहादुर रहनु भएको छ । उमेरले ६० काटिसकेकी महिमा चनारा आफ्नो भाई हर्कबहादुर घर आएपछि खुशीको आँसु रोक्न नसकी भाईलाई अंकमाल गरीरहनु भएको थियो । २०५०÷०६० को दशकमा हर्क वहादुर घर बाट वेपत्ता हुनु भएको थियो । भारतको कोलकतामा मानसिक रोगको उपचार गराईरहेको अवस्थामा प्रहरी मार्फत सम्पर्कमा आउनु भएको हो ।
यसरी बेपत्ता भएको ३० वर्ष पछि हर्क वहादुर घर पर्कदा घर परिवार आफन्तका साथै गाउँघरमा समेत निकै खुसीयाली छाएको छ ।

तपाईको प्रतिक्रिया