जाजरकोट, साउन ३० गते
अमेरिकी नागरिक एलिसनको सहयोगमा कुशे र नलगाडमा टेलिमेडिसिन तथा मातृ स्वास्थ्य सेवा संचालन गरिएको छ । जाजरकोटको कुशे गाँउपालिका र नलगाड नगरपालिकामा बर्थिङ्ग सेन्टर र टेलिमेडिसिन सेवा संचालन भएको हो ।
अमेरिकी नागरिक एलिसन कोरनेको आर्थिक सहयोग तथा केयर नेपाल र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारीमा दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाहरुको पहुँचमा अभिबृद्धि परियोजना संचालन भएको हो । परियोजना मार्फत जिल्लाको कुशे ९ पैक, कुशे २ टालेगाँउ, नलगाड १२ भगवति र नलगाड १ अनाहापानी प्रसुती भवन निर्माण गरेको हो । उक्त बर्थिङ्ग सेन्टर मार्फत टेलिमेडिसिन सेवा समेत संचालन भैरहेको छ । सन् २०२१ देखि लागु भएको यो परियोजनाका लागि अमेरिकी नागरिक एलिसनले हरेक बर्ष दुई करोड ५६ लाख भन्दा बढी रकम पठाइरहेकी छन् । यो सन् २०२४ सम्म संचालन हुने तीन बर्षे परियोजना हो ।
टेलिमेडिसिन सेवाबाट दुर्गमका विरामीलाई संचारका साधन मार्फत विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । परियोजनाको सहयोगमा निर्माण गरिएका प्रसुती गृह र टेलिमेडिसिन सेवाको अवस्थाबारे सरोकारवालाहरुको संयुक्त अनुगमण टोलीले स्थलगत अवलोकन समेत गरेको छ । अन्य तीन ठाँउका प्रसुती भवन र टेलिमेडिसन सेवा संचालन भएपनि नलगाड १ अनाहापानीको भने केही दिनमै संचालन हुने भएको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख विर्ष बहादुर शाही, कर्णाली प्रदेश अस्पताल सुर्खेतका टेलिमेडिसिन प्राविधिक नगेन्द्र बहादुर चन्द, सामाजिक विकास मन्त्रालयका डिकेन्द्र राना, पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाह, महासचिव राजुकुमार केसी र कोषाध्यक्ष दीपनारायण कार्की, नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ठकेन्द्र गिरी, नलगाड नगरपालिकाका निमित्त कार्यवाहक प्रमुख कौशीबहादुर विष्ट, नलगाड नगरपालिका स्वास्थ्य शाखा प्रमुख तप्त चनारा, वडाध्यक्षहरु, संचारकर्मी लगायतका सरोकारवालाले बर्थिङ्ग सेन्टर र टेलिमेडिसिन सेवा लगायतका कार्यक्रमको अनुगमण गरेका हुन् ।
अनुगमणका साथै कार्यक्रमको समिक्षा समेत गरिएको थियो । नलगाड नगरपालिका दल्लीमा आयोजित अन्र्तक्रिया तथा समिक्षा कार्यक्रममा कुशे र नलगाड नगरपालिकामा परियोजना द्धारा गरिएका कार्यक्रम बारे प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख विर्ष बहादुर शाहीले दुर्गमका महिलाहरुलाई मातृ स्वास्थ्य सेवाहरुको पहुँच बढाउन परियोजनाको महत्वपुर्ण भुमिका रहेको उल्लेख गरेका छन् । सरकारी निकाय सँगै हातेमालो गरेर अघि बढेको परियोजनालाई सामाजिक विकास मन्त्रालय र स्वास्थ्य महाशाखाबाट गर्नु पर्ने नितिगत र अन्य सहयोग गर्न आफुहरु सँधै तयार रहेको बताए । दुर्गममा प्रसुती भवन बनाउन र टेलिमेडिसिन सेवा संचालनका लागि परियोजनाले गरेको लगानी र सहयोगको उनले उच्च प्रशंसा गरेका छन् ।
कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका टेलिमेडिसिन प्राविधिक नगेन्द्र बहादुर चन्दले दुर्गमका विरामीलाई स्थानिय स्वास्थ्य संस्था मार्फत प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक सँग आवश्यक स्वास्थ्य परामर्श लिन टेलिमेडिसिन सेवा प्रभावकारी माध्याम भएको बताए । संचारका साधनहरु टेलिफोन, फेसबुक म्यासेन्जर, हवाट्स एप लगायतका माध्यामबाट विरामी र चिकित्सक विच समस्या र सल्लाह आदानप्रदान भैरहेको चन्दले बताए । निमित्त कार्यबहाक नगरप्रमुख कौशीबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक रोशन थापाले कार्यक्रमको प्रगति प्रस्तुतीकरण गरेका थिए ।

जनसन्देश खबर । ३० श्रावण २०८०, मंगलवार ०९:५२