
जनसन्देश समाचारदाता
जाजरकोट, कार्तिक,११ गते ।
जाजरकोटमा भएका छुटाछुट्टै दुर्घटनाका घाईतेहरुमध्ये गंभिर ११ जनालाइ नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाईएको छ ।
जाजरकोको भेरी नगरपालिका १३ कुदु र नलगाड नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाईते भएका छन् । सोमबार भेरी नगरपालिका ७ बाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाईते भएको प्रहरीले जनाएको छ । ति मध्य गंभिर घाइते ९ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको छ । सामान्य घाइते ५ जना उपचार पछि घर फर्किएका छन् ।
यस्तै बारेकोट गाउँपालकिाबाट सदरमुकामतर्फ आईरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाईते भएका छन् । गंभिर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको छ । सामान्य घाईते चार जना डिस्चार्च भएका हुन् ।
दुवै दुर्घटनाका घाईतेमध्ये ११ जनालाई हेलिकप्टरमार्फत सुर्खेत पठाईएको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए । उनीहरुको अवस्था गंभिर भएकोले सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि सुर्खेत पठाईको उनले बताए । हेलिकोप्टरले उद्धार गर्नेहरुमा महिसा शाही, निति सिंह, धर्म चन्द, लक्ष्मी अधिकारी, पवित्रा अधिकारी, हरीकला परियार, धनकली थापा, भीमबहादुर शाही लगायतका रहेको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । धेरै जसोको टाउकोमा चोट लागेको छ ।

१६ जनाको क्षमता रहेको गाडीमा ३६ जना भन्दा बढी यात्रु सवार थिए । क्षमता भन्दा धेरै यात्रु राखेका कारण गाडी अनियन्त्रित भै मोडमा दुघर्टना भएको स्थानियको भनाई छ । घाईतेहरुलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र कुदुमा उपचारका लागि लिएका थिए । स्वास्थ्य केन्द्रका अनुसार घाईतेलाई सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको थियो । गाडि सडकबाट करिब ४० मिटर तल खसेको बताईएको छ ।

जनसन्देश खबर । २८ कार्तिक २०८१, बुधबार ०५:२७