
जनसन्देश समाचारदाता
जाजरकोट, माघ २० गते । जाजरकोटको जुनीचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु भएकोे छ । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको हराएको दुई दिन पछि शव फेला परेको हो । शाही माघ १७ गते जुनीचाँदे गाउँपालिका स्तरीय चौथो अध्यक्षकप हेर्न शिवपुरी मावि, जुनीचाँदे–५ पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेल खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा स्थानीय काड्य खोलामा शाहीको शव दुई दिन पछि भेटिएकोे जानकारी दिनु भयो ।
माघ १८ गते बिहानै इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो ।
प्रहरीले शुक्रबार घटनास्थलको मुचुल्का तयार गरेको थियो । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टम गएिको छ । घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको प्रमुख पाण्डेले बताउनु भयो ।
“खेलकुद कार्यक्रम सकिएपछि शाही साथीहरूसँग घर फर्किएका थिए । घर जाने क्रममा बाटोमै झगडा भएको बुझिएको छ । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको र कानमा चोट लागेको देखिन्छ” पाण्डेले बताउनु भयोे ।
मृतक शाहीका आफन्तले उहाँको हत्या भएको आरोप लगाएका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । अनुसन्धानका लागि प्रहरीले १ महिला र ६ पुरुषसहित ७ जनालाई नियन्त्रणमा लिएको आवश्यक सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।
पीडित पक्ष जाहेरी दर्ता गर्ने तयारीमा रहेको र जाहेरी दर्ता भएपछि घटनाको थप विवरण सार्वजनिक गरिन जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको दाबी छ ।

जनसन्देश खबर । २० माघ २०८१, आईतवार ०८:१७