सरकारको प्राथमिकतामा नपर्दा टीनको छानामुनी भुकम्प पीडितको बास

जनसन्देश सम्बाददाता ।
जाजरकोट, माघ २० गते । १ सय ५४ जनाको ज्यान जाने गरेर २०८० कात्तिक १७ गते मध्येराति गएको जाजरकोटकोट भूकम्प पीडितहरु हाल सम्म टिनको छानामै बस्न वाध्य भएका छन । जाजरकोटका सात वटा स्थानीय तहले अस्थायी आबासको लागि ४८ हजार ५ सय १६ जना लाभग्राही कायम गरेका थिए ।
सरकारको प्राथमिकतामा नपरेको हुदा पुनर्निर्माणको काममा अगाडी बढ्न नसकेको यहाँका भूकम्प पीडितहरुको गुनासो रहेको छ । भेरी नगरपालिका १२ का वडाध्यक्ष दीपक राना हिउँदको जाडो, टीनको छानामुनीबाट चुहिने शीत थापाले निर्थुक्क भिजेका कपडाहरु दैनिक निचोरेर प्रयोग गर्नुपर्ने अबस्था रहेको गुनासो पोख्नु हुन्छ ।
विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी कार्यालय भवनहरूको पुनर्निर्माण नहुँदा पठनपाठन, उपचार सेवा र सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । जिल्ला प्रसाशन कार्यालय जाजरकोटका अनुसार २ सय ८९ विद्यालय पूर्ण र ५ सय ९८ विद्यालयमा आंशिक क्षति भएका थिए । त्यस्तै ९२ सरकारी कार्यालयमा पूर्ण क्षति र ६० सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।
सरकारी कार्यालय निर्माणका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्थापना भएको छ । डीडीए गर्नका लागि प्राधिकरणले जिल्लामा सम्पर्क कार्यालय स्थापना गर्नु पर्ने, पुनर्निर्माणको प्रक्रिया छिटो थाल्नुपर्ने लगाएतका मागहरु भुकम्प पीडितहरुले राख्न थालेका छन् ।
सरकारको ढिलासुस्ती र उदासीनताले भूकम्प पीडितको अवस्था दिनप्रति दिन कष्टकर बन्दै गइ रहेको छ । चिसो थेग्न नसक्दा गत वर्ष जाजरकोट र रुकुमपश्चिममा त्रिपालमै ४३ जनाको ज्यान गएको थियो। सयौं बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती र दीर्घ रोगी बिरामी परे । बर्षादका बेला टहरामा पहिरो खस्दा जाजरकोटमा ७ र रुकुमपश्चिममा ३ जनाको ज्यान गुमाउनु परेको थियोे ।
टीनका अस्थायी आबासमा सकसपूर्ण दिन गुजारी रहेका पीडितहरू सरकार प्रति आक्रोशित बनेका छन् । नलगाड नगरपालिकाका प्रमुख डम्वर वहादुर रावत भूकम्प पीडितको समस्यालाई सरकारले महत्व नदिएको गुनासो गर्नुहुन्छ । नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले समयमै पुर्ननिर्माण को कार्य अगाडि नवढाउनु नागरिकहरुको वाँच्ने अधिकारमा राज्यले वेवास्ता गरेको बताउनु भयो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले लाभग्राही मध्ये ४० हजार ८६ जनाले पहिलो किस्ता बापत २५ हजारका दरले रकम पाएकोे जानकारी दिनु भयो । ३७ हजार ६ सय ९१ घरधुरीको अन्तिम किस्ताका लागि विपद् पोर्टलमा इन्ट्री गर्ने काम सम्पन्न भैसकेको र ‘हालसम्म १४ हजार घरधुरीले मात्र अन्तिम किस्ता रकम पाएका प्रमुख जिल्ला अधिकारी मग्रातीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया