
सहदेव बस्नेत
जाजरकोट, वैशाख ११, २०८२
भेरी नगरपालिकाले लागु औषध रोकथाम तथा नियन्त्रण गर्न बृहत निशुल्क योग शिविर सम्पन्न गरेको छ । त्रिभुवन माध्यामिक विद्यालय थाप्लेको प्राङ्गणमा संचालन गरिएको बृहत निशुल्क योग शिविर बुधबार सम्पन्न भएको हो ।
पतञ्जली योग समिति नेपालको सहजीकरणमा भेरी नगरपालिकाले बृहत निशुल्क योग शिविर संचालन गरेको थियो । यही बैसाख ७ गतेदेखि ११ गतेसम्म संचालन भएको उक्त शिविरमा पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी (अध्यक्ष) लवदेव मिश्रले सहभागीहरुलाइ योगाभ्यास गराउनु भएको थियो ।
नगरपालिकाले बृहत निशुल्क योग शिविरसंगै पाँच दिने योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट ४३ जना दिक्षित भएको भेरी नगर स्वास्थ्य शाखा प्रमुख दिपक ओलीले जानकारी दिनु भयो । शाखा प्रमुख ओलीले दिएको जानकारी अनुसार प्रशिक्षणबाट दिक्षित भएका ४३ जनाले गाउँ तथा टोल नागरिक र विद्यालयहरुमा योगाभ्यास गराउने भएका छन् ।
पतञ्जली योग समिति नेपालका प्रशिक्षक लोकनाथ खनाल, पतञ्जली योग समिति नेपाल कर्णाली प्रदेशका इन्चार्ज बशन्त शर्माको सहयोगमा पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी (अध्यक्ष) लवदेव मिश्रलेनै पाँच दिनसम्म ४३ जना सहभागीहरुलाइ प्रशिक्षक प्रशिक्षण दिनु भएको थियो ।
पाँच दिनसम्म संचालन गरिएको बृहत निशुल्क योग शिविरबाट दैनिक ४०० जनाले योगाभ्यास गरेको नगर स्वास्थ्य शाखा प्रमुख ओलीले बताउनु भयो ।

गत बर्षदेखि लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धीको अभियान संचालन गरेको भेरी नगरपालिकाले लागु औषध दुव्र्यसनको कुलतमा नफसेकाहरुलाइ दुव्र्यसनबाट जोगाउन योगाभ्यास लगाएतका विभिन्न कृयाकलापहरु संचालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख ओलीले जानकारी दिनु भयो । त्यसैगरी नगरपालिकाले दुव्र्यसनको कुलतमा फसेकाहरुको पहिचान गर्न विभिन्न अध्ययन तथा अनुसन्धान गरिरहेको छ शाखा प्रमुख ओलीले भने–“पहिचान भएकाहरुको नगरपालिकाले व्यवस्थापन गर्दछ, चिकित्सकको सल्लाहमा पुनस्र्थापना केन्द्रमा लैजानु पर्ने व्यक्तिलाइ नगरपालिकाले प्रतिव्यक्ति ५० हजार सहायता प्रदान गर्ने भएको छ, पुनस्र्थापना केन्द्रमा ९० दिनको कोर्ष दिएर घर फर्काउने व्यवस्था गरिएको छ ।”
पुनस्र्थापना केन्द्रबाट घर फर्किएकाहरुलाइ पुनः लागु औषध दुव्यर्सनको कुलतबाट जोगाउन नगरपालिकाले विभिन्न रोजगारी दिनुको साथै विभिन्न कृयाकलापमा सहभागी गराउने कार्यक्रम तय गरेको नगर स्वास्थ्य शाखा प्रमुख ओलीले जानकारी दिनु भयो।
लागु औषध रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले नगर प्रमुख चन्द्र प्रकास घर्तीको अध्यक्षतामा नगर स्तरीय लागु औषध रोकथाम तथा नियन्त्रण समिति, प्रत्येक वडामा सरोकारवाला समुह, प्रत्येक टोलमा दवाव समुहलाइ क्रियाशिल राखेको नगरपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत दल वहादुर घर्तीले जानकारी दिनु भयो ।

जनसन्देश खबर । ७ असार २०८२, शनिबार १४:४६