कुदुमा लिफ्ट सिँचाइ आयोजना सम्पन्न, पहिलो पटक धान रोपाइ ,कृषक हर्षित

सहदेव बस्नेत
जाजरकोट, असार १० गते । जिल्लाको भेरी नगरपालिका १३ कुदुमा पहिलो पटक पहिलो पटक आफ्नो खेतमा धान रोपाई गर्न पाउँदा कृषकहरु खुसी भएका छन ।

सिँचाइको सुविधाको अभावमा वर्षौँदेखि बाझिएको जमिन यसपालि हरियाली बनेको छ । एकीकृत कर्णाली सिँचाइ आयोजनाको साढे ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएसँगै स्थानीय किसानहरू उत्साहित बनेका हुन ।

जिल्लाकै वढि क्षेत्रफल खेतियोग्य जमीन रहेको यस गाउँमा सिँचाइको पहुँच नहुँदा अहिले सम्म कृषकले रोपाइ गर्न पाएका थिएनन् ।
भेरी नगरपालिका वडा नं १३ का लोकेन्द्र रोकायले भन्नु भयो, “हामीलाई अब वर्षामा मात्र भर पर्नु परेन, सिँचाइ पुगेपछि पहिलो पटक खेतमा धान रोप्न पायौँ ।”
एकीकृत कर्णाली सिँचाइ आयोजनाका कार्यालय प्रमुख कृष्ण प्रसाद डुम्रकोटीले उक्त आयोजनाबाट लामितरा, रोकाय गाउँ, कुस्तरा र बटालागाउँका करिब ४ सय ८५ घरधुरीका २ हजार ३ सय ८६ जनसङ्ख्या लाभान्वित भएका जानकारी दिनु भयो। आयोजनाबाट करिब ७६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको जानकारी दिनुभयो ।

वर्षौँ देखि सिँचाइ र खानेपानीको अभाव खेप्दै आएका त्यस ठाउँका स्थानीय अहिले घर नजिकै खानेपानी र सिँचाइको सुविधा भएपछि भेरी नदीको दूषित पानी खानबाट मुक्त भएको स्थानीय बाशुदेव शर्माले बताउनु भयो । आयोजना निर्माणले किसानहरू वर्षात कुर्नुपर्ने बाध्यता हटेको, उब्जनी बढ्ने र आम्दानीमा सुधार आउने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया