जाजरकोट बाट तीन जना उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत

सहदेव बस्नेत, जाजरकोट
असार १७ गते । जाजरकोटका तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, सुर्खेतले जाजरकोटका तीन जना शिक्षकलाई ‘उत्कृष्ट शिक्षक प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत गरेको हो ।
बारेकोट गाउँपालिका–२, लिम्सास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयमा माध्यमिक तह तृतिय श्रेणीमा कार्यरत लक्ष्मी खत्री, भेरी नगरपालिका ४ इउरी स्थित रामजानकी आधारभुत विद्यालयमा प्राथमिक तह प्रथम श्रेणीमा कार्यरत अच्युत प्रसाद शर्मा र छेडागाडको दशेरा स्थित जनप्रिय माविमा कार्यरत निमावि द्धितिय श्रेणीमा कार्यरत जयबहादुर थापा लाई शैक्षिक गुणस्तर अभिवृद्धिमा पुरयाएको योगदानको उच्च कदर गर्दै नगद ३५ हजार सहित प्रशंसा–पत्र प्रदान गरिएको हो ।
शिक्षण पेशालाई थप मर्यादित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान दिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटको सिफारिसमा ति शिक्षकलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथि, प्रदेश सचिव अर्जुन गौतम विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएको थियो । शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले प्रशंसा–पत्र हस्तान्तरण गर्नुभएको थियो । पुरस्कृत भएका शर्मा र थापा सम्बन्धित विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ भने खत्री मावि तहमा अंग्रेजी विषयकी शिक्षिका हुनहुन्छ ।
कर्णाली प्रदेशका १० ओटै जिल्लाबाट गरी ३० जना भन्दा बढी शिक्षकलाई पुरस्कृत गरिएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया