सहदेव बस्नेत, जाजरकोट, असार २८ गते ।
सामाजिक विकास कार्यालय जाजरकोटले बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सनिबार होटल ¥याडिसनको सभा हलमा सम्पन्न भएको हो ।
सम्पन्न बार्षिक प्रगति समीक्षा कार्यक्रममा चालु तर्फ ८२ दशमलव ८९ प्रतिशत र पुँजीगत तर्फ ९१ दशमलव ३८ प्रतिशत वित्तिय प्रगति हासिल भएको कार्यालयले देखाएको छ । सामाजिक विकास कार्यालयका प्राविधिक सहायक जगदिश न्यौपानेले प्रस्तुत गरेको बार्षिक प्रगति विवरणमा कार्यालयले सतप्रतिशत भौतिक प्रगति हासिल गरेको देखाएका थिए ।
हासिल गरेका महत्वपूर्ण उपलब्धीमा गुणस्तरीय भौतिक संरचना अन्तरगत ११ वटा विद्यालय भवन, सुविधासम्पन्न ३ वटा सौचालय, २२ वटा विद्यालयको फिल्ड तथा घेराबारको निर्माण कार्य सम्पन्न गर्नुको साथै महिला, दलित, आदिबासी जनजाति, अपाङ्ग, बालबालिका र जेष्ठनागरिक उत्थानशिल विभिन्न सीपमुलक कार्यक्रम सम्पन्न गरेको कार्यालयको बार्षिक प्रगति विवरणमा समावेश गरिएको छ ।

उक्त बार्षिक प्रगति समीक्षा कार्यक्रमका प्रमुख अतिथि पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कर्णाली प्रदेश सभा “क” साँसद वेदराज सिंहले संघीयताको प्रयोग गलत तरिकाले भइराखेको भनाइ । गलत तरिकाले योजना तथा बजेट तर्जुमा हुने गरेको बताउदै गलत तरिकाले योजना छनौट गर्ने र बजेट तर्जुमा गर्ने परिपाटीको अन्त्य गर्न एक करोड भन्दा माथिको बजेटमा अनिवार्य ठेक्का खोल्ने नीति बनार्यौ प्रमुख अतिथि सिंहले भने,‘ठेक्का खोल्ने तरिकाले पनि काम हुन सकेन, ६० प्रतिशत विलो हालेर ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुले काम नगरेर अहिले कयौं योजनाहरु अलपत्र पारेका छन् ।

सामाजिक विकास कार्यालय, जाजरकोटका निमित्त कार्यालय प्रमुख दसरथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री, जिल्ला समन्वय समिति, जाजरकोट उप–प्रमुख दल बहादर सिंह, भेरी नगरपालिका उप–प्रमुख सीता जैसी, लगायतले यसरी प्रगति समिक्षा गर्ने पहिलो कार्यालय भएकोमा प्रशंसा गर्दै कार्यक्रम वारे केहि सल्लाह सुझाव प्रदान गरेका थिए।

कार्यक्रमको संचालन प्राविधिक सहायक जगदिश न्यौपानेले गरेका थिए भने, स्वागत भाषण महिला निरिक्षक रितु शाहीले गरेकी थिइन । कार्यक्रममा कार्यालयका कर्मचारी, पत्रकार, विकास साझेदार तथा तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।


जनसन्देश खबर । २८ असार २०८२, शनिबार २०:४५