भेरी नदीमा जलसतह बढ्दो, सचेत रहना प्रशासनको अनुरोध

सहदेव बस्नेत
जाजरकोट, साउन १३ गते । जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठूलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ। जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन स्थानीय प्रसाशनले अनुरोध गरेको छ।
मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।‘नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु अत्यावश्यक छ,’ सूचनामा भनिएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जल तथा मौसम पूर्वानुमान महाशाखाको सहयोगमा प्राप्त पछिल्लो तथ्यांक अनुसार जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको प्रमुख बताउनु भयो । यसकारण घर नजिकै नदी किनारमा गतिविधि नगर्न, गाईबस्तु चराउन नदी किनार नजान र जोखिमयुक्त स्थानमा नबस्न कार्यालयले अपिल गरेको छ।
जाजरकोट जिल्लाको तल्लो बगरदेखि छेडा बजारसम्मका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको प्रजिअ मंग्रातीले बताउनु भयो । भेरी नदी को आसपासमा रहेका बस्तीहरू र भेरी करिडोर क्षेत्रमा प्रहरी मार्फत सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको प्रजिअ मग्रातीको भनाई छ ।प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्नसमेत अनुरोध गरेको छ । नदी आसपासमा रहेको बस्तीहरू विशेषगरी भेरी नगरपालिका, नलगाड क्षेत्रका केही बस्हतीहरूमा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया