जाजरकोटमा पत्रकार आचारसंहिता र अपांगता सम्बन्धी संवेदनशीलता विषयक अभिमुखीकरण

जनसन्देश सम्बाददाता
जाजरकोट भदौ ५ गते । अपांगता भएका व्यक्तिहरूसम्बन्धी समाचार प्रकाशन र प्रसारणमा संवेदनशीलता अपनाउनुपर्ने विषयमा जाजरकोटका पत्रकारहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाँचतारा युवा संरक्षण मञ्च, भेरी नगरपालिका र ह्यान्डिक्याप इन्टरनेशनलको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटका जिल्ला न्यायाधिवक्ता नविन कुमार भट्टले अपांगता सम्बन्धी बनेका कानुन, अन्तर्राष्ट्रिय महासन्धी र नेपालको संविधानमा व्यवस्था गरिएको हकअधिकारबारे जानकारी गराउँदै, पत्रकारहरूले समाचार लेख्दा कानुनी आधारलाई समेत समेट्नु पर्नेमा जोड दिनु भएको थियो ।
पत्रकार महासंघ जाजरकोटका सल्लाकार तथा प्रेस यूनियन नेपालका उपाध्यक्ष राजेन्द्र कार्कीले पत्रकारहरुले आफुहरुको क्षमता विकास गरेर पेशालाई प्रभावकारी वनाउन आग्रह गर्नु भएको थियो । समाचार लेखनको क्रममा अपांगता भएका व्यक्तिहरूको संवेदनशीलता लाई ध्यान दिएर मात्र प्रकाशन गर्नु पर्नेमा कार्कीले जोड दिनु भयो ।


पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष बालकुमार शर्माले पत्रकार आचारसंहिता र समाचार लेखनमा पत्रकारहरूले ख्याल गर्नुपर्ने महत्त्वपूर्ण बुँदाबारे सहजीकरण गर्नु भएको थियो । अपांगता भएका व्यक्तिहरूको समाचारमा अपमानजनक वा दया जागाउने भाषाको प्रयोग नगर्नु, व्यक्तिगत पहिचानलाई अनावश्यक रुपमा खुलाउने प्रवृत्ति रोक्नु पर्नेमा शर्माले जोड दिनु भएको थियो ।
समाचारलाई सनसनीखेज बनाउनुभन्दा वस्तुगत र तथ्यमा आधारित बनाउनुपर्ने, अपांगता भएका व्यक्तिलाई “असक्षम” हैन “क्षमता भएका नागरिक”को हैसियतले प्रस्तुत गर्नु, अधिकार र अवसरको पक्षमा सकारात्मक सन्देश दिने, र समाजमा उनीहरूको योगदानलाई प्रोत्साहन गर्ने, आदि विषयमा पत्रकारहरूले विशेष ख्याल गर्नुपर्ने वारेमा सहजीकरण गर्नु भएको थियो ।

भेरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शारदा शर्माले पत्रकारहरूले पस्किने सामग्रीले समाजमा ठूलो प्रभाव पार्ने भएकाले अपांगता भएका व्यक्तिहरूलाई अझै हेला वा दया गर्ने दृष्टिकोणबाट हैन, बराबरी र सम्मानका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिनु भएको थियो । “अपांगता भएका व्यक्तिहरूका समाचारहरूले उनीहरूको अधिकार, अवसर र क्षमता देखाउने खालका हुनुपर्छ। समाचारकै कारणले समाजमा सोचाइ परिवर्तन हुन्छ, त्यसैले पत्रकारहरू विशेष संवेदनशील हुनुपर्छ,शर्माको भनाई थियो।”
अपांग स्वावलम्वन संस्थाका हस्त विक ले समाचार लेखनको क्रममा अपाँगता भएका व्यक्तिहरुको संवेदनशील बनी दिन आग्रह गर्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा जिल्लाका ३० भन्दा बढी क्रियाशील पत्रकारहरूको सहभागिता रहेको पत्रकार महासंघ जाजरकोटका सचिव रेशम वहादुर खड्काले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया