
जनसन्देश सम्बाददाता
जाजरकोट, भदौ १० गते । नेकपा (एकीकृत समाजवादी) जाजरकोटको चौथो पार्टी पुनर्गठनरस्थापना दिवस तथा जिल्ला सचिवालयको बैठक आज खलंगामा सम्पन्न भएको छ ।
बैठकमा पार्टी बिद्रोह तथा पुनर्गठन पछिका चार वर्षमा भएका वैचारिक तथा संगठनात्मक काम, बाम पार्टीबीचको सम्भावित एकता र आगामी कार्यदिशा जस्ता विषयमा छलफल भएको जिल्ला इन्चार्ज कृष्ण बहादुर बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही असोज ३ गते भेरी, २५ गते छेडागाड र २७ गते कुसे गाउँमा अधिवेशन आयोजना गर्ने र तिहार लगत्तै बारेकोट र नलगाडमा अधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै पदाधिकारी, सचिवालय र जिल्ला कमिटी सदस्यहरुको लेभी निर्धारण, बैंक खाता सञ्चालन, सदस्यता नवीकरण लगायतका विषयमा कार्ययोजना पारित गरिएको समेत नेता बिसीले बताउनुभयो ।
बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य कृष्ण बहादुर बीसी , जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य कमान बहादुर खड्का , सह इन्चार्ज, प्रदेश कमिटी सदस्यहरु, जिल्ला सचिवालय सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ।
बैठकको सञ्चालन सचिव प्रदिप खड्काले गर्नुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष दिप बहादुर थापाले गर्नुभएको थियो ।

जनसन्देश खबर । ९ भाद्र २०८२, सोमबार २१:१९