
सहदेव बस्नेत
जाजरकोट , मंसिर २७ गते । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रले जाजरकोटका विद्यालयमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघको केन्द्रीय कार्यालय काठमाण्डौं वाट आएको टोली सहितले शुक्रबार भेरी नगरपालिका वडा नं ६ मा रहेको श्री भगवती आधारभूत विद्यालयमा अनुगमन गरेको हो । संघको छात्रवृत्ति कार्यक्रम अन्तरगत त्यस विद्यालयबाट पनि ४ जना विद्यार्थीहरुले छात्रवृति पाएर पढिरहेका छन् । उनीहरुको शैक्षिक अवस्था र समग्र विद्यालयको अवस्थाको बारेमा अवलोकन गर्न सरोकारवालाहरु सहितको टोली विद्यालयमा पुगेको थियो ।

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र वि क,वडा नं ६ का वडा अध्यक्ष शसीराम वुढा,संघका केन्द्रिय कार्यक्रम व्यवस्थापक चित्र विक.,संघको जिल्ला अध्यक्ष रती नेपाली,वडा सदस्य,पत्रकार लगायतको सहभागिता रहेको थियो।
अनुगमनको लागि गएको टिमले विद्यालयको शैक्षिक अवस्था,विद्यार्थीको संख्या,शैक्षिक भवन र दलित बालबालिकाको शैक्षिक अवस्थाको बारेमा अवलोकन गरेको थियो । वडा अध्यक्ष वुढाले विद्यालयमा भवन र घेराबारको समस्या रहेको जिल्ला समन्वय प्रमुख खत्रीलाई जानकार गराउनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित गाइनले विद्यालयमा शैक्षिक सुधार गनका लागि सरोकारवाला निकायले यसरीनै बेलाबेला अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले विद्यालयका अति विपन्न परिवारका दलित विद्यार्थीलाई छात्रवृति प्रदान गरेर ठूलो राहत पुगेको अभिभावकले खुसी व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख खत्रीले संस्थाको छात्रवृति कार्यक्रमले कमजोर आर्थिक अवस्था भएका दलित विद्यार्थीलाई नियमित विद्यालयको पहुँचमा पुग्न सहयोग गरेको बताउनु भयो । यसको प्रभावकारिता बढिरहेकोले जिल्लामा छात्रवृतिका लागि थप विद्यार्थी सङ्ख्या जोड्न सके राम्रो हुने प्रमुख खत्रीको भनाई थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका कार्यक्रम अधिकृत कृष्ण तिरुवाले संघले जाजरकोटमा सेभ चिल्ड्रेनको सहयोगमा १ सय २० जना दलित बालबालिकालाई छात्रवृति उपलब्ध गराएर पढाइरहेको जानकारी दिनु भयो .


जनसन्देश खबर । २७ मंसिर २०८२, शनिबार ०७:२६