
जनसन्देश सम्बाददाता
जाजरकोट , पुस २९ गते । जाजरकोटमा निर्वाचन प्रहरी भर्नामा युवायुवतीको आकर्षण देखिएको छ । आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै जाजरकोट जिल्लामा ९ सय ८२ जना निर्वाचन प्रहरी माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार निर्वाचनको शान्ति–सुरक्षा व्यवस्थापनका लागि आवश्यक संख्यामा निर्वाचन प्रहरी माग गरिएकोमा भर्ना आवेदनमा युवायुवतीको आकर्षण देखिएको हो । जिल्लामा रहेको वेरोजगारी समस्याका कारण पनि युवायुवतीको आकर्षण वढि देखिएको हो ।
माग गरिएका निर्वाचन प्रहरीमध्ये नेपाल प्रहरी अन्तर्गत ८ सय ८६ जना र सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत ९६ जना रहेका छन् । निर्वाचन अवधिभर मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणना स्थल तथा संवेदनशील क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।


जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर खड्काले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिनुभयो । निर्वाचन प्रहरीका लागि दरखास्त फाराम भर्ने कार्य जिल्ला प्रहरी कार्यालय जाजरकोट अन्तर्गतको भर्ना÷निर्वाचन सेल बाट भइरहेको जनाइएको छ । इच्छुक उम्मेदवारहरूले तोकिएको मिति भित्र स्वयम् उपस्थित भई फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
यता सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. जाजरकोटले पनि गूल्म कार्यालयमा निर्वाचन प्रहरीका लागि दरखास्त फाराम भर्ने कार्य सनचालन गरेको छ ।

दरखास्त फाराम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र, हाल सालै खिचिएको पासपोर्ट साइज फोटो, आवश्यक शैक्षिक तथा स्वास्थ्यसम्बन्धी कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । फाराम स्वीकृत भएपछि विभिन्न परिक्षण तथा परिक्षामा सफल हुने उम्मेदवारहरूलाई आवस्यक तालिम प्रदान गरेर निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारीअनुसार परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनसन्देश खबर । ३० पुष २०८२, बुधबार ११:२०