
जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख ३०गते । जाजरकोटको भेरी नगरपालिका–४ पानी ट्याङ्कीस्थित भित्री सडक खण्डमा आज बिहान जीप दुर्घटना हुँदा चालक घाइते भएका छन्।
आज बिहान करिब १०ः०० बजे खलङ्गा बजारदेखि भेरी नगरपालिका–६ नेटा बजारतर्फ जाँदै गरेको रा १ च ९२९ नम्बरको रिटेलिङ (स्टेस्नरी) सामान बोकेको जीप दुर्घटनामा परेको हो । जीप सडकमा उकालो चढ्ने क्रममा अचानक ब्याक भई सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जीप चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी वर्ष ३७ का टोपबहादुर बस्नेत घाइते हुनु भएको छ । घाइते चालक बस्नेतको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी काार्यलय जाजरकोटका प्रहरी निरीक्षक सुधिर खड्काले घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी टोली खटाएर उद्धार गरिएको जानकारी दिनु भयो। प्रहरीले घाइते चालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाएर उपचार भइरहेको प्रहर निरीक्षक खड्काले जानकारी दिनु भयो ।

जनसन्देश खबर । ३० बैशाख २०८३, बुधबार १३:२०