भेरी नगरपालिकाका प्रधानाध्यापकहरुलाई क्षमता विकास तालिमको शुरुवात

जनसन्देश सम्बाददाता
जाजरकोट, असार ६ गते । जाजरकोटको भेरी नगरपालिकाले आफ्नो पालिका भित्रका सवै विद्यालयका प्रधानाध्यापकहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिमको शूरुवात गरेको छ । भेरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा “प्रधानाध्यापक नेतृत्व, उत्प्रेरणा तथा क्षमता विकास तालिम” शनिबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ।


तालिम उद्घाटन कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा तथा इकाइ प्रमुख, सञ्चारकर्मी तथा नगरपालिका अन्तर्गतका सामुदायिक एवं संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो।
प्रधानाध्यापकहरूको नेतृत्व क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, शैक्षिक गुणस्तर सुधार गर्ने तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको सहजीकरण प्रख्यात शिक्षाविद् डा. मिन बहादुर शाहीले गरिरहनुभएको छ।
कार्यक्रममा भेरी नगरपालिका जाजरकोटका प्रमुख प्रशासकिय अधिकृत विष्णुहरि तिमल्सेना, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख यज्ञेश्वर खत्री, गैर सरकारी संस्था महासँघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


शुधकामना मन्तव्यमा वक्ताहरूले विद्यालयको समग्र विकासमा प्रधानाध्यापकको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालय व्यवस्थापन तथा शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरेका थिए।
भेरी नगरपालिकाले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न क्षमता विकास तथा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको शिक्षा शाखा प्रमुख प्रमोद बिष्टले जानकारी दिनु भयो । यस तालिमले विद्यालय नेतृत्व सुदृढीकरण तथा स्थानीय शिक्षाको समग्र सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विष्टले बताउनु भयो । कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले प्रधानाध्यापकहरुको नेत्रित्व विकास र विद्यालय व्यवस्थापनमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिएको बताउनु भयो ।


कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।
तालिम आज देखि ८ गते सम्म त्रिभुवन माद्यामिक विद्यालय खलंगा ३ थाप्लेको सभाहलमा सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया