पहिरोले घरबास गुमाएका पीडितका लागि रिसाङमा मकैबारीमा टेन्ट बनाइदै

जनसन्देश सम्बाददाता
जाजरकोट, भदौ ९ । जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा बाढीपहिरोबाट प्रभावित परिवारका लागि मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण गरिएको छ। पहिरोका कारण घरबास गुमाएका तथा जोखिममा रहेका परिवारलाई अन्य विकल्प नभए पछि तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न स्थानीयस्तरमै जग्गा व्यवस्थापन गरी टेन्ट निर्माण गरिएको हो।

रिसाङमा बाढीपहिरोबाट प्रभावित अति विपन्न तथा पूर्णरूपमा घर क्षति भएका १४ घरधुरीका लागि १५ वटा टेन्ट निर्माण गरिएको छ। त्यसमध्ये एउटा टेन्ट आपत्कालीन स्वास्थ्य सेवाका लागि छुट्याइएको छ। उक्त टेन्टमा भेरी नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा आकस्मिक रूपमा बिरामी वा स्वास्थ्य समस्या देखिए तत्काल प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले टेन्टमै स्वास्थ्य सेवा सञ्चालन गरिएको हो। बाँकी टेन्ट पूर्णरूपमा घर क्षति भएका तथा अति विपन्न परिवारको अस्थायी आवासका रूपमा प्रयोग गरिनेछ।

टेन्ट निर्माण गरिएका कतिपय स्थानमा मकैबाली लगाइएको थियो। विस्थापित परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्नुपर्ने भएपछि मकैबारी फाँडेर जग्गा सम्याई अस्थायी संरचना निर्माण गरिएको स्थानीयले बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडिआरआरएमए० को प्राविधिक टोलीले स्थलगत अध्ययनपछि रिसाङ विद्यालय आसपास, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुर गरी तीन स्थानलाई अस्थायी सेल्टरका लागि उपयुक्त ठहर गरेको थियो। पहिरोको जोखिम, भू–बनोट, पानीको निकास र पहुँच मार्गलगायतका विषय अध्ययन गरी सुरक्षित स्थान पहिचान गरिएको हो।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गा भाडामा लिने विषयमा जग्गाधनी र भेरी नगरपालिकाबीच सम्झौता भइसकेको छ। जग्गाको भाडा नगरपालिकाले बेहोर्नेछ। स्थानीय तह, जिल्ला प्रशासन र प्राधिकरणको समन्वयमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने काम अघि बढाइएको उनले बताए।

रिसाङमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। ठूलो संख्यामा परिवार विस्थापित भएपछि तत्काल सुरक्षित आवासको आवश्यकता परेको हो। लगातारको वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले प्रभावितलाई जोखिमयुक्त घरमा फर्काउन सकिने अवस्था नरहेको प्रशासनले जनाएको छ।

अस्थायी सेल्टरमा बसोबास गर्ने परिवारका लागि खानेपानी, शौचालय, विद्युत्, खाद्यान्न तथा सरसफाइको व्यवस्थापनसमेत चुनौती बनेको छ। स्थानीयवासीले तत्कालको सुरक्षित बसोबाससँगै जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन गरी दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन्।

यसैबीच, पहिरोका कारण रिसाङ हुँदै कुशे गाउँपालिका जाने सडक अवरुद्ध हुँदा यातायात तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा समस्या भएको छ। पहिरोले खानेपानीको पाइपलाइनमा समेत क्षति पुर्‍याएपछि जाजरकोट सदरमुकाममा खानेपानी आपूर्ति प्रभावित भएको छ। जिल्लामा बाढीपहिरोबाट विस्थापन, सडक अवरोध र खानेपानीको समस्या एकैपटक देखिएपछि राहत, उद्धार तथा पूर्वाधार पुनःस्थापनाको कामलाई तीव्रता दिनुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया