छेडागाडमा गर्भ जाँच गराउँदा एक क्यारेट अण्डा

जाजरकोट, साउन २४ गते । जिल्लाको छेडागाड नगरपालिकाले गर्भवति महिलालाई स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराए हरेक पटक एक क्यारेट अण्डा दिने भएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था पत्ता लगाउन कम्तीमा आठ पटक गर्भ जाँच गराउन पर्छ ।
गर्भ जाँच गराएर स्वास्थ्य अवस्था पत्ता लगाउने र पोषणमा सुधार ल्याउन हरेक पटक गर्भ जाँच गराउँदा गर्भवति महिलालाई एक क्यारेट अण्डा र अन्य पोषणयुुक्त सामग्री प्रदान गरिने भएको हो ।
नगरउपप्रमुख चन्द्र वहादुर थापाले आगामी साउन १ गते देखि नै गर्भवति महिलाहरुलाई अण्डा प्रदान गरिने बताउनु भयो । आगामी आर्थिक बर्षको बजेटमा उक्त कार्यक्रम संचालनका लागि बहुुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत संघिय सरकारबाट प्राप्त १३ लाख रुपैया स्वास्थ्य शाखा मार्फत खर्च गरिने उपप्रमुख थापाले जानकारी दिनु भयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गंगबहादुर रोकायले कुपोषण घटाउन, आफुु र आफ्नो बच्चा प्रति संवेदनशील बनाउन गर्भवति सँग अण्डा कार्यक्रम राखिएको बताए । कार्यक्रमले गर्भ जाँच गराउन आउने महिलाको संख्यामा बृद्धि गर्ने अपेक्षा गरिएको उनले बताउनु भयो । छेडागाडमा गएको साउन देखि गत जेठ सम्म चार सय ८५ गर्भवति महिलाले गर्भ जाँच गराएका छन् । अण्डा पाईने भएपछि यो संख्या अझै बढ्न सक्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया