
जाजरकोट। साउन २ गते । भेरी नगरपालिका–२ तिमिलेमा पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई भईरहेको छ । बर्षायामको खोला वारपार गर्न नसकिने भएपछि बालबालिकालाई विद्यालय जान कठिनाई भएको हो ।
बाल विकासदेखि कक्षा ५ सम्मको पढाई पुरा गर्नका लागि तिमिलेका बालबालिकाहरु नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पुग्नु पर्दछ । वर्षा सँगै जागेका पानीका मुहानहरु जम्मा भएर बग्ने बसुन्धारा खोलाका कारण डोप्के, गुमथले, छेलोहान्ने, बुझेनी लगाएका टोलका विद्यार्थीहरुलाई विद्यालय जान र आउन कठिनाई भईरहेको स्थानीय अभिभावकको गुनासो रहेको छ । बसुन्धाराबाट बगेर आएको खोला तर्नका लागि घउँसेनीमा पुलको आबश्यकता रहेका स्थानीयको माग रहेको छ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक बल बहादुर खत्रीले पुल नहुदा ६० जना भन्दा बढि विद्यार्थीहरु १ घण्टा हिडेर अर्को पाँचकाटियाको विद्यालयमा गएर पड्न वाध्य भएको जानकारी दिनु भयो ।
आफ्नो गाउँभन्दा बाहिरको विद्यालयमा बालबालिकाहरुलाई पढ्न पठाउनुपर्ने अबस्था अभिभावकहरु चिन्तीत भएको प्रअ खत्रीको भनाई रहेको छ । जनश्रमदानद्धारा स्थानीयले बनाएको काठको थाप्कोबाट त्यहाँका नागरिकहरु वारपार गर्ने गरिरहेका छन् । केही बर्ष पहिले त्यही काठको लाप्कोबाट चिप्लिएर स्थानीय शेर बहादुर वलीको मृत्यु भएको थियो ।
फोटो क्याप्सन ः स्थानीयले वनाएको जोखीमपुर्ण काठेपुल । तस्बिर.सहदेव बस्नेत,गोरखापत्र

जनसन्देश खबर । २४ श्रावण २०८०, बुधबार ११:३९