कुशे नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा ।

 

जाजरकोट ,भदौ २२ गते शुक्रबार
जनसन्देश खवर सम्बाददाता ।
जाजरकोटको कुशे गाँउपालिकालाई देशकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ । आवश्यक सवै सुचकहरु पुरा भएपछि गाँउपालिकालाई शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरेर अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले उक्त घोषणा गरेका हुन् । उनले कुशेले गरेको यो अभ्यास कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नु पर्ने बताउँदै असल कामका लागि कुशेवासीलाई बधाई तथा शुभकामना समेत दिनु भएको थियो ।

अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि।सं २०८५ सम्म सबै नागरिकलाई आधारभूत तह सम्मको शिक्षामा पहुँच पु¥याउने व्यवस्था उल्लेख गरिएको छ ।
कुशे गाउँपालिकाका ४ देखि १२ बर्ष उमेर समुहका सवै बालबालिका विद्यालयको पहँुचमा आएका छन् । प्रारम्भिक बालविकास देखी कक्षा ८ सम्म जम्मा ७ हजार ४ सय ८४ जना सवै बालबालबालिकाहरुलाई कुशे गाउँपालिकाले अनिवार्य तथा निः शुल्क शिक्षा प्रदान गरिरहेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनु भयो। विद्यालयको पहुँच बाहिर रहेका ९६ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिएको, अपाङगता भएका ९ जना बालबालिकाहरुलाई घरमै विद्यालय शिक्षा कार्यक्रम संचालन गरिएको, ८ जना अपाङगता भएका बालबालिकाहरुलाई जिल्ला भित्र र जिल्ला बाहिरका स्रोत विद्यालयहरुमा पढ्ने सुनिश्चितता गरिएको छ । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा गाँउपालिकाले नेपालमै पहिलो अनिवार्य तथा निःशुल्क शिक्षा र विद्यालय शान्ति क्षेत्र पालिका कार्यान्वयनमा ल्याएको हो ।
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन कुशे गाउँपालिकामा रहेका ५५ वटै विद्यालयमा गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिच २७ वुंदे विद्यालय संचालन तथा व्यवस्थापनको लागि सम्झौता, शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन करार सम्झौता कार्यान्वयन गरिरहेको र प्रधानाध्यापकहरुले विद्यालय शिक्षकहरु संग कार्यसम्पादन करार सम्झौता गर्ने गरि कार्य अगाडि वढिरहेको छ । गाउँपालिका, वडा तथा विद्यालय स्तरमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन कार्यक्रमहरु संञ्चालन गरि सबै तहवाट प्रतिबद्धता गरी कार्यन्वयन भैरहेको अध्यक्ष बस्नेतले बताउनु भयो।
गाँउपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनकबहादुर शाहले सबै विद्यालयहरुलाई विद्यालय शान्तिक्षेत्रको रुपमा घोषणा गरिएको बताए । उनका अनुसार घर, समुदाय र समाजमा बालबालिकाहरु माथी कुनै पनि प्रकारको हिंसा नगर्ने कुरामा सबै अभिभावहरुले प्रतिवद्धता गरेका छन् । । आगामी दिनहरुमा विद्यालयका भौतिक पूर्वाधारहरु बालमैत्री, अपाङ्गतामैत्री बनाउनमा जोड दिइनेछ र समावेशी शिक्षालाई प्रर्वद्धन गरिनेछ । बालबालिकाहरुलाई घर, विद्यालय, समुदाय र समाजमा कुनै पनि प्रकारको हिंसा गरिने छैन र यस प्रकारका हिंसाहरुलाई निरुत्साहित गरिनेछ ।
पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रण बहादुर कार्कीले पालिकालाई बालमैत्रि घोषणा निर्माण गर्ने अभियान अन्तरगत संस्थाले पालिकासँग को सहकार्यमा उक्त घोषणा कार्यक्रम सम्पन्न गरेको बताउनु भयो ।
अनिवार्य आधारभूत शिक्षा कार्यक्रमलाई बालबालिकाको विद्यालय छोड्ने दर शुन्य बनाउने, कक्षा दोहो¥याउने दर घटाउने, उत्तिर्ण दर बढाउने, टिकाउ दर बढाउने र तह पारगर्ने दर बढाउने, बालअधिकारको सुनिश्चितता गर्ने कदमको रुपमा लिईएको शिक्षा शाखा प्रमुख शाहले बताए । कुशे गाउँपालीको शिक्षा ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५, शिक्षा नीति तथा रणनीतिक योजना २०७७ र प्रारम्भिक बालविकास एकीकृत नीति तथा रणनीति योजना २०७७–२०८२ निर्माण गरि कार्यान्वयनमा ल्याईएको उनले बताए ।

“अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, कुशे बासीहरुको इच्छा” भन्ने मुल नाराका साथ भएको घोषणा कार्यक्रममा विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले घोषणा पत्र, निमित्त प्रमुख प्रशासकिय अधिकृत लालभक्त शाहीले प्रगति विवरण र शिक्षा शाखा प्रमुख जनकबहादुर शाहले कार्यप्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा अभियानलाई सहयोग गर्ने सरोकारवालाहरुलाई कदरपत्र द्धारा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया