जाजरकोट बहुप्राविधिक शिक्षालय यसरी फस्दै छ राजनैतिक दलदलमा

 

जाजरकोट भेरी नगरपालिका ५ मा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल दानबहादुर ठकुरीले चन्दा नदिएको भन्दै एमाले निकट अनेरास्ववियुले धम्क्याउँदै दुब्र्यवहार गरेपछि उनी शिक्षालय छोडेर सम्पर्क विहिन भएका छन् । प्रिन्सिपल ठकुरी सँग अनेरास्ववियुका जिल्ला तहका विद्यार्थी नेताले जिल्ला अधिवेशनका लागि भन्दै गत आइतवार ५० हजार चन्दा मागेका थिए । तर प्रिन्सिपल ठकुरीले त्यति धेरै रकम कसरी दिने म दिन सक्दिन भनेका कारण अनेरास्ववियुका नेताहरुले शिक्षालय नछोडे कालोमोसो दल्ने र जुत्ताको माला लगाईदिने धम्की सहित दुब्र्यवहार गरेका थिए ।

‘अनेरास्ववियुका विद्यार्थीले आफुलाई तोकेरै ५० हजार मागेको र मैले यति धेरै पैसा म दिन सक्दिन भनेर भनेपछि धम्की दिएको र दुब्र्यवहार समेत गरेका कारण म अव जाजरकोट नबस्ने निर्णय सहित मैले शिक्षालय छाडेर आएको’ भनेर सुर्खेतको छिन्चुबाट आफुलाई जानकारी गराएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । त्यसपछि भने प्रिन्सिपल ठकुरी सम्पर्कमा नरहेको उनले बताए । अहिले पिन्सिपल ठकुरीको फोन अफ छ । आकस्मिक रुपमा शिक्षालय छोडेर पिन्सिपल नै गएपछि पठनपाठन अस्तब्यस्त भएको छ । शिक्षालयमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् ।

धम्क्याउने विद्यार्थी नेतालाई कारवाही गर्नुपर्ने र पिन्सिपल ठकुरीलाई जसरी पनि शिक्षालयमा फर्काउनु पर्ने, शिक्षालयमा राजनैतिक हस्तक्षेत्र बन्द गर्नुपर्ने, नियमित पठनपाठन हुनु पर्ने माग सहित शिक्षालयमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । तालाबन्दी पछि पठनपाठन र नयाँ भर्ना प्रक्रिया सवै ठप्प भएको छ । शिक्षालय जस्तो पवित्र स्थानमा आएर राजनीति गर्नु र शिक्षकलाई धम्कि दिनु सही नभएको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको विद्यार्थी कृष्ण खत्रीले बताए । प्रिन्सिपल ठकुरीलाई सम्मानका साथ शिक्षालयमा उपस्थित नगराउँदा सम्म ताला नखोल्ने ति विद्यार्थीले बताए । आन्दोलनमा उत्रिएका विद्यार्थीले आफ्ना मागहरु सम्बोधन गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई पत्र पठाएका छन् ।

शिक्षालयमा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियर डिप्लोमा इन फरेष्टी, डिप्लोमा इन पशु विज्ञान विषयको पठनपाठन हुने गरेको छ । तीन बर्ष अघि स्थापना भएको यो शिक्षालयको संस्थापक पिन्सिपल ठकुरी नै हुन् । शिक्षालयको विकास र विस्तारमा ठकुरीको महत्वपुर्ण योगदान रहेको छ । स्रोतका अनुसार शिक्षालयमा अध्यापनरत शिक्षक र कर्मचारी समेत दुइ भागमा विभाजन भएका छन् । एउटा समुहले पिन्सिपलको पक्ष लिएको छ भने अर्को पक्षले अनेरास्ववियुको पक्षमा । जसले गर्दा पनि प्राविधिक शिक्षालय राजनैतिक दलको क्रिडास्थल बन्ने खतरा बढ्दै गएको छ । कर्मचारी नियुक्ति देखि विद्यार्थी भर्ना सम्ममा राजनिति हुने गरेको स्थानियको भनाई छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाशमान सिंहले जाजरकोट बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियुको कमिटी गठनमा शिक्षालय प्रमुख दानबहादुर ठकुरीले रोक लगाएको जनाएका छन् । ‘जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियु’ संगठनको अभियान अन्तर्गत साउन २१ गते शिक्षालयमा कमिटी गठन गर्न अनेरास्ववियूका केन्द्रीय सदस्य दिनेश गौतम, प्रदेश कमिटी सदस्य विवश भारती र जिल्ला संयोजक प्रकाशमान सिंह सहित गएका थिए । त्यहाँ शिक्षालय प्रमुख दानबहादुर ठकुरीले कमिटी गठन तथा वितरण कार्यमा अवरोध गरेको आरोप संगठनको छ । ‘हामीले चन्दा मागेका पनि छैनौं र उनलाई धम्की दिएका पनि छैनौं । रिटायर्ड हुन एक महिना मात्र बाँकी रहेका ठकुरीको जिल्ला छोड्ने बाहाना मात्र हो’ अध्यक्ष सिंहले भने ‘शिक्षालयमा हामीले होइन पिन्सिपल ठकुरीले नै राजनिति गर्न खोजेका हुन् । हामीले त्यसको प्रतिवाद गरेका मात्र हौ ।’

शिक्षालयमा विद्यार्थीले लगाएको ताला खोल्न पहल भैरहेको निमित्त प्रजिअ शर्माले बताए । पिन्सिपल ठकुरी फर्कन चाहे सुरक्षाको ग्यारेन्टी प्रशासनले लिने बताउँदै उहाँ आउन नचाहे सिटीईभीटीलाई अर्को ब्यवस्था मिलाउन आग्रह गरे । सिटीइभीटीले शिक्षालयका प्रशिक्षक अनिता बुढालाई सोमवार देखि लागु हुने गरि निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ । उनले ताला खुलाउन पहल भैरहेको बताईन ।

तपाईको प्रतिक्रिया