
जनसन्देश सम्बाददाता।
जाजरकोट, कात्तिक १२ गते ।
जाजरकोटमा दशैं लगत्तै गरिएको अनुगमणमा अधिकाँस कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज गरेको छड्के अनुगमणमा जिल्लाका १३ कार्यालयका एक सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ । स्थानिय प्रशासनले आईतवार गरेको अनुगमणका क्रममा १० वटा कार्यालयका कार्यालय प्रमुख सहित आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमण गरिएका १३ कार्यालय मध्य ३ वटा कार्यालय प्रमुख मात्र कार्यालय उपस्थित रहेका थिए । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा. प्रतिक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्ली बहादुर केसी मात्र कार्यालय प्रमुखको रुपमा कार्यालयमा भेटिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनु भयो । अन्य १० कार्यायल प्रमुखहरु हाजिरी रजिष्टरमा विदानै नजनाई अनुपस्थित रहेका पाइएको जनाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय, डिभिजन वनकार्यालय, भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, बृहत जलाधार व्यवस्थापन कार्यालय, सिंचाई तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, उर्जा तथा सिंचाई कार्यालय, सामाजिक विकास कार्यालय, पुर्वाधार विकास कार्यालय, नापी कार्याय, भेरी करिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो ।
अनुगमन गरिएका मध्य सवै भन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित रहेका जनाइएको छ । दशैं विदा मनाउन घर गएका धेरैजसो कर्मचारी कार्यालयमा नफर्केपछि सेवाग्राही मर्कामा परेका छन् । दशैं विदा पछि गत शुक्रवार नै कार्यालय खुलेपनि हाल सम्म आधा भन्दा बढी कर्मचारी अझै कार्यालय आईपुगेका छैनन् ।
सरकारी कर्मचारीलाई नागरिक प्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ सुनारले आग्रह गर्नु भएको छ। दशैं मनाउन घर गएका कर्मचारीलाई विदा वा काजको वहानामा उतै नबस्न र तत्काल कार्यालयमा उपस्थित भै सेवाग्राहीलाई सेवा प्रदान गर्न गर्न निर्देशन दिनु भएको छ । छड्केमा गएको स्थानिय प्रशाशनको टोलीले अनुपस्थित कार्यालय प्रमुख र कर्मचारीको हाजिरीमा रातो चिन्ह्र लगाएको जनाइएको छ ।

जनसन्देश खबर । १२ कार्तिक २०८०, आईतवार १९:११