२५ बर्षपछि खुर्पा गाउँमा पुगे कृस एबान्स

जनसन्देश सम्बाददाता ।
जाजरकोट, कार्तिक १७ गते ।
२५ बर्षपछि बेलायति नागरिक कृस एबान्स आफुले कार्यक्रम सन्चालन गरेको कुशे गाउँपालिका–५ खुर्पामा पुगेका छन् । मौलिक नाँचका रुपमा रहेको खाँडो नाँचमा रमाउन कृस एबान्स २५ बर्षपछि खुर्पा पुगेका हुन् ।

२५ बर्षपछि खुर्पामा पुगेका कृसलाई बाजागाजा र फुलमालाले भव्य स्वागत गरिएको थियो । वडा अध्यक्ष हरि बहादुर सिंह, खुर्पाका बाल, युवा र जेष्ठ नागरिकले कृसलाई भव्य स्वागत गरेका थिए । वडा अध्यक्ष सिंहले बेलायति नागरिक एबान्सलाई ढाल र तरुवाल हातमा थमाएर स्वागत गरेका थिए ।

२०५५ सालदेखि जाजरकोट जिल्ला छोडेका कृस एबान्स खुर्पामा पुगेपछि स्थानीय नागरिकसंग ढल्की–ढल्की खाँडो नाँच नाँचेका थिए । दमाहको तालमा नाँचिने खाँडो नाँच कृस एबान्सले सजिलैसंग नाँचेका थिए ।
२०४१ सालमा पहिलो पटक जाजरकोट जिल्लामा आईपुगेका कृस एबान्सले तीन बर्ष तत्कालिन जिल्ला वन कार्यालयमा भोलेन्टेड सेवा गरेका थिए । २०४४ सालदेखि पर्माकल्चर कार्यक्रमका माध्यामबाट जाजरकोट जिल्लाको खलंगा, रिसाङ्ग, पाँचकाटिया, खुर्पा, समाईला, सिल्पाचौर, मुल्साम लगाएतका थुप्रै ठाउँमा प्राङ्गगारिक कृषि पद्धति, पशुचौपाय पालन, जैविक विविधताको संरक्षण, उद्ययमशिलता, खानेपानी, सिंचाई, आधुनिक घट्ट, पेल्टीसेटको माध्यामबाट विद्युतिकरण लगाएतका मल्टि आयोजना निर्माण, घरभित्र, घर बाहिर र वातावरणिय सरसफाई, विद्यालय संचालन लगाएतका क्षेत्रमा कृस एबान्सले योगदान गर्दै आएका थिए ।
डेमोसेशन, कृषि मेलाको आयोजना गर्नुको साथै हावापानी सुहाउदो बीऊ, विजन आयात गरेर प्राङ्गगारिक कृषि पद्धतिका लागि नयाँ जागरण पैदा गर्दै आएका कृस एबान्सले जाजरकोट जिल्लामा थुप्रै मानव सेवाका काम पनि गरेका थिए ।
२०५५ सालपछि हिमाली पर्माकल्चर प्रोगोराम केन्द्रको सहयोगमा हुम्ला जिल्लाका विभिन्न ठाउँमा योगदान गर्दै आएका कृस एबान्सले यो बर्षदेखि जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–१० देउसुले स्थित श्री माध्यामिक विद्यालय सिर्पाचौरमा गाउँका किसानहरुलाई कृषि जेटिए सम्बन्धिको पढाईमा समन्वय गरिरहेका छन् ।

२५ बर्षपछि जाजरकोटमा फर्किएका कृस एबान्सले पहिले आफुले कार्यक्रम संचालन गरेका खलंगा, रिसाङ्ग, पाँचकाटिया, खुर्पा लगाएतका ठाउँको अवलोकण गरेका छन् । रामचन्द्र प्राथमिक विद्यालयको आयोजनामा कृस एबान्सलाई पाँचकाटियामा पनि स्वागत गरिएको थियो । पहिले आफुले काम गरेको ठाउँको अवलोकण र पुराना साथिहरुसंगको भेटघाटलाई नविकरण गर्न यसपटक आफु पाँचकाटियादेखि खुर्पासम्म पुगेको बताउदै कृस एबान्सले आगामी बर्षहरुमा पहिले आफुले काम गरेका स्थानहरुमा पर्माकल्चरका कार्यक्रमहरुलाई जोड्न सकिने विश्वास दिएका थिए । कृस एबान्ससंगै हिमाली पर्माकल्चर प्रोगोराम केन्द्रका कार्यकारी निर्देशक भुवन खड्का, संस्थापक सदस्य होममाया गुरुङ्ग लगाएतको टोली खुर्पासम्म पुगेको थियो ।

तपाईको प्रतिक्रिया