चिसोले भुकम्प पिडित सुत्केरीको बिजोग

 

 

जनसन्देश सम्बाददाता
जाजरकोट, मङ्सिर २७ गते । जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज दुई हप्ता मात्र भएको छ । पालको वासमा रहेकी उहाँलार्ई चिसो थेग्न निकै मुस्किल परेको छ । चिसोले राती निन्द्रा नपरेपछि दिउसो घाममा सुत्ने गरेको तर तीन दिन यता भईरहेको बदलीले गर्दा समस्या भएको उहाँको भनाई छ । चिसोले गर्दा होला रातभर बच्चा रोईरहने र आफु पनि सुन्निएको विमलाको चिन्ता छ ।
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले यसरी पाल भित्र कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कहिलै नसोचेको बताउनु हुन्छ । कात्तिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखीमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य हुनु भएको छ ।माथिबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफु र शिशुलाई कसरी जोगाउने भन्ने चिन्ताले मोतिकलालाइ निकै पिरोल्न थालेको छ ।
२ सय भन्दा बढि घरधुरी रहेको चिउरी गाउँमा ४५ जना सुत्केरीसंगै १२ जना गर्भवति महिला भएको स्वयमसेविका विकले जानकारी दिनु भयो । चिउरीकी सुत्केरी र गर्भवति महिलाहरुलाई टेन्ट मात्र नभएर न्यानो कपडा, पोषणयुक्त खाद्यन्नको अभाव भइरहेको स्वयसेविका विकको भनाई रहेको छ । अधिकाँश दलित बस्ती रहेको चिउरीमा भुकम्पले १३ जनाको ज्यान लिएको थियो । विपन्न बर्गका समुदायका बाहुल्यता रहेको यस गाउँमा लत्ताकपडा र खानेकुराको समेत अभाव देखिएको छ ।
यतिवेला सुत्केरी र बालबालिकालाई न्यानो कपडाका साथै पोषिलो खानेकुराको आवश्यकता रहेको छ । महिला अधिकारकर्मी पार्वती विकले भुकम्प पछि त्रिपालमा बस्नुपर्दा सुत्केरी र बालबालिकालाई प्रभावित भएको विकले जानकारी दिनु भयो ।
चिसोका कारण जोखिम समुहमा रहेका जाजरकोट र रुकुम पश्चिमका ३४ हजार ४ सय ७३ नागरिकलाई ज्यान जोगाउन समस्या पर्न थालेको छ । त्यस्तै एक हजार ८ सय १५ भर्खरका सुत्केरी त्रिपालको चिसोमा बस्न बाध्य छन् । चिसोकै कारण जाजरकोटमा २० जना र रुकुम पश्चिममा तीन जना गरी ८ जनाले ज्यान गुमाईसकेका छन् । एक हजार भन्दा बढी विरामी परेका छन् ।

तपाईको प्रतिक्रिया