लागुपदार्थ दुव्र्यसन विरुद्ध भेरी नगरपालिकाको अभियान , सुराकीलाई पुरस्कार दिइने

सहदेव बस्नेत
जाजरकोट, वैशाख २५ गते । भेरी नगरपालिकाले लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियान सुरु गरेको छ । नगरभित्रका किशोरकिशोरी तथा यूवाहरुलाई लागुपदार्थ दुव्र्यसन बाट मुक्त गर्न एक्सन सहित अभियानको सुरुवात गरेको हो । सार्वजनिक स्थलमा रक्सी चुरोट सेवन गरेमा नगरपालिकाले कारवाही गर्ने भएको छ ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो , तर पछिल्लो समय लागुपदार्थ दुव्र्यसनी जस्ता क्रियाकलापमा फसेकोले त्यहाँ बाट मुक्त गर्न अभियानको सुरुवात गरिएको बताउनु भयो ।
पछिल्लो समय नगरभित्रका यूवाहरु लागुपदार्थको लतमा फसेको, विद्यालय छोड्ने यूवाको संख्या बढेको जनगुनासोका आधारमा नगरपालिकाले लागुपदार्थ रोकथाम तथा दुव्र्यसनी विरुद्धको अभियान सुरु गरेको प्रमुख घर्तिले बताउनु भयो। अभियानका लागि नगरले एक करोड रुपैयाँ परिचालन गरेको घर्तिले जानकारी दिनु भएको छ ।
अभियान सफल पार्नका लागि लागु औषध उत्पादन र विक्रि वितरण गरिने क्षेत्र पहिचान गरी उत्पादन नष्ट गर्ने निर्णय गरिएको अभियानका फोकल पर्सन शिक्षा अधिकृत अमृतबहादुर पुनले जानकारी दिनु भयो । पुनका अनुसार, लागुऔषध ओसारपसार गर्ने नगरभित्रका मुख्य नाकाहरु,सार्वजनिक स्थलमा मद्यपान÷धुम्रपान पुर्ण प्रतिवन्ध लगाउने र उल्लंघनकर्तालाई प्रचलित कानून वमोजिम कार्वाही गरिने निर्णय गरिएको छ ।


नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दल वहादुर घर्तिले लागुऔषध उत्पादन र विक्री वितरण सम्बन्धी सूचना दिने नागरिकलाई पुरस्कृत गर्ने निर्णय समेत गरिएको बताउनु भएको छ । लागुपदार्थ ओसारपसार गर्नेलाई तत्काल नियन्त्रणमा दिई कार्वाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको घर्तिले जानकारी दिनु भयो ।
लागु पदार्थ दुव्र्यसन तथा नियन्त्रण गर्ने प्रयोजनका लागि सुचना तथा तथ्यांक संकलन गर्ने जिम्मेवारी प्रहरीलाई दिईएको फोकल पर्सन पुनले बताउनु भयो । जोखिममा रहेका युवालाई पहिचान गरेर उपचारका लागि पुर्नस्थापना केन्द्रमा पठाउने निर्णय समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया