आठविसकोटमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, सात घाईते

सहदेव बस्नेत
मंगलबार, साउन १, २०८१

गत राती अबीरल वर्षा पछि आएको बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।

आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, एक जना बेपत्ता र सात जना घाईते भएको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिनुभयो ।

नगर प्रमुख केसीका अनुसार मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्की रहनु भएको छ। उक्त घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ ।

बाढीले घर बगाउँदा घाईते हुनुभएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छ। चन्दका अनुसार घाईते हुनेहरुमा १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २९ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहनुभएको छ ।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताईएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, नेपाल रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् ।

तपाईको प्रतिक्रिया