पुर्नलाभ सम्बन्धि जिल्ला स्तरीय सिकाई कार्यशाला

जनसन्देश समाचारदाता
जाजरकोट माघ १०,गते । गत वर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि पुर्नलाभ चरणमा रुकुम पश्चिम र जाजरकोट जिल्लामा पछिल्लो नौ महिनामा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले गरेका कामहरुको बारेमा जिल्ला स्तरिय सिकाई कार्यशाला सहित समापन भएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले दुवै जिल्लाका १३ वटै स्थानीय तहलाई कार्यक्षेत्र बनाई सुरक्षित आवास सचेतना, सिमान्तकृत समुदायलाई लक्षितगरि २६ वटा नमुना आवास, सिकर्मी तथा डकर्मी सम्बन्धि तालिम, हरित पुननिर्माण सम्बन्धि अवसरको प्रवद्र्धन, पुननिर्माण लक्षित उद्यमशिलता विकास लगायतका संघ, प्रदेश र स्थानीय तह सगको समन्वयमा विभिन्न गतिबिधि मार्फत पुर्नलाभ चरणको परियोजना संचालन गरेको थियो ।


भेरी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय तह, सरोकारवाला निकाय, लाभान्वितहरुले आईओएमका गतिविधिहरु बारे सल्लाह सुझाव सिकाईहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आइओएमका नेपाल प्रमुख हेलेन फोर्सले कार्यक्रम कार्यान्वयनको दौरानमा स्थानीय सरकार, सारेकारवाला निकाय सँगको समन्वयमा भूकम्प पुनर्लाभको कार्य गरेको र दिगो पुनर्निर्माणको लागि आधारशिला रहेकोे बताउनु भयो । उहाँले हरित प्रविधिमैत्री र दिगो विकास लक्ष्यमा आधारित भएर गरेका कामहरुले सकारात्मक प्रतिफल दिएको उल्लेख गर्नुभयो ।
परियोजना अन्तर्गत भएका गतिविधिहरुको प्रस्तुति दिनुहुँदै आइओएमका इन्जीनियर प्रेरणा वलीले जाजरकोट र रुकुम पश्चिममा गरि जम्मा २६ जना भूकम्प प्रभावितहरुलाई नमूना घर निर्माण गरेर हस्तान्तरण गरिएको बताउनुभयो । स्थानीय तहको सिफारिसमा अतिविपन्न, अपांगता भएका, दलित तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको लागि नमूना घर निर्माण गरिएको हो । जाजरकोटमा १२ र रुकुम पश्चिममा १४ वटा निर्माण गरिएको प्रस्तुति गर्नु भएको थियो ।


संयुक्त पुनर्लाभ परियोजना अवधिभरमा सुरक्षित आवास सचेतना स्वयंसेवक द्धारा घरदैलो मार्फत दुवै जिल्लाका भूकम्प प्रभावित समुदायमा सामाजिक प्राविधिक सहयोग अन्तरगत एक लाख ५० हजार भन्दा वढि जनसंख्यालाई आवास सहायता र पुनस्थापना तथा पुनर्निर्माणका लागि काम गरेको उहाँले जानकारी गराउनु भयो ।
उहाँले सिएसईबी र ढुगाकाट्ने प्रविधि प्रविधिमा आधारित ईट्टा व्यवसाय सञ्चालनका लागि २८ व्यवसायीलाई सहयोग गरिएको बताउनुभयो । सामाजिक परिचालन सहायक महतले सुरक्षित आवास सचेतना, स्थानीय सरकारलाई नीति तथा योजना निर्माणमा सहयोग, सामाजिक सचेतना अभियान, प्रभावितहरुलाई आवास हस्तान्तरण, स्थानीय सरकारको सशक्तिकरण, स्थानीय जनशक्तिको सीप तथा क्षमता विकास लगायतका क्षेत्रमा गरेका मुख्य कामहरुको बारेमा जानकारी गराउनुभयो ।
परियोजना चरणमा संचालन गरिएका क्रियाकलापहरु समेटेर तयार पारीएको उपलब्धिहरुलाई समेटेर डकर्मी तालिम, यौन शोषण तथा दुव्र्यवहार विरुद्ध अभिमुखिकरण, सडक नाटक प्रदर्शनी, स्थानीय तहका प्राविधिकहरुलाई तालिम, मोबाइल भ्यान तथा रेडियो र टेलिभिजनबाट सचेतना, स्थानीय तहलाई विपत् व्यवस्थापनका सामाग्री सम्बन्धि बृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नु हुदै नलगाड नगरपालिकाका प्रमुख डम्वर वहादुर रावत, भेरी नगरपालिकाका उप प्रमुख सिता जैशी, शिवालय गाउँपालिकाका अध्यक्ष शेर वहादुर शाही, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दल वहादुर घर्ति, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकिय अधिकृत समीर कुमार गौतम ,गैर सरकारी संस्था महासँघ नेपालका जिल्ला अध्यक्ष सहदेव बस्नेतले आइओएमले सन्चालन गरेको कार्यक्रमको वारे चर्चा तथा राय सुझाव प्रदान गर्नु भएको थियो।


जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सातवटै पालिकाका प्रमुख, उप प्रमुख तथा प्रतिनिधि, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी, भूकम्प प्रभावित लाभग्राही, जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानिय गैर सरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
मन्तव्य तथा छलफलको क्रममा स्थानीय सरकार प्रमुख तथा प्रतिनिधीहरुले पुर्नलाभको परियोजना निकै प्रभावकारी रहेकाले पुननिर्माणको लागि विकास साझेदारहरुको सहयोगको लागि अनुरोध गर्नु भएको थियो ।
द्धारीका प्रसाद घिमीरेले सञ्चालन गर्नुभएको कार्यक्रममा आइओएमका नेपाल प्रमुख हेलेन फोर्स, चेरी अबेला, निर्मल चोंगबागं, कृष्ण चौधरी लगायतका आईओएमका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बेलायत सरकारको सहयोगमा आईओएमले सञ्चालन गरेको एकिकृत भूकम्प पुनर्लाभ कार्ययोजना अन्तर्गत विभिन्न गतिविधिहरु छोटो समयमा पनि प्रभावकारी रहेको पाईएको छ ।

 

तपाईको प्रतिक्रिया