जाजरकोटका १५ हजार किशोरीलाइ क्यान्सर विरुद्ध एचपिभी खोप लगाइदै


जनसन्देश, समाचारदाता ।
जाजरकोट, माघ १५ गते । जाजरकोटका पन्ध्र हजार किशोरीलाइ पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । राष्ट्रिय खोप अभियान–२०८१ अन्तरगत जाजरकोटका पन्ध्र हजार किशोरीलाइ पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी गरिएको हो ।

सात वटा स्थानीय तह र ७७ वटा वडा रहेको जाजरकोट जिल्लामा यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान संचालन गरिने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका खोप फोकल पर्सन शान्त बहादुर बुढाथोकीले ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १३ हजार २६५ र स्कुल भन्दा बाहिर रहेका १० देखि १४ बर्ष उम्मेर समुहका १ हजार ७३५ गरी जम्मा १५ हजार किशोरीलाइ खोप लगाउने तयारी गरिएको जानकारी दिनु भयो ।

बुढाथोकीले दिएको जानकारी अनुसार भेरी नगरपालिकामा माघ २२ गते, नलगाड नगरपालिका र शिवाालय गाउँपालिकामा माघ २३ गते, बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा माघ २५ गते, छेडागाड नगरपालिका र कुशे गाउँपालिकामा माघ २७ गतेदेखि एचपिभी खोप अभियान संचालन गर्ने तयारी गरिएको छ । जिल्लाका सबै पालिका र वडामा खोप अभियान संचालन गर्न १३० जना स्वास्थ्यकर्मी र ५३२ जना स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको खोप फोकल पर्सन बुढाथोकीले बताउनु भयो ।

पाठेघरको मुखको क्यान्सर निवारण गर्न एचपिभी विरुद्धको राष्ट्रिय खोप अभियान संचालन गरिएको हो । विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० का अनुसार पाठेघरको मुखको क्यान्सर हुनुको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस ९ज्एख्० संक्रमण हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार पाठेघरको मुखको क्यान्सरनै महिलाहरुमा हुने क्यान्सरहरूको प्रमुख कारणहरू मध्ये एक भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका परिवार नियोजन निरिक्षक प्रेम न्यौपानेले जानकारी दिनु भयो ।

पाठेघरको मुखको क्यान्सर संक्रमित हुने विश्वमा प्रतिबर्ष झण्डै ६ लाख महिलाहरुको संख्या रहेको निरिक्षक न्यौपानेले बताउनु भयो । प्रतिबर्ष पाठेघरको मुखको क्यान्सरले विश्वमा ३ लाख ४० हजार महिलाको मृत्यु हुने गरेको उहाँले जानकारी दिनु भयो।
पाठेघरको मुखको क्यान्सरलाइ निवारण नगर्ने हो भने विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म विश्वमा प्रतिबर्ष संक्रमित हुने महिलाको संख्या ७ लाख पुग्ने अनुमान गरेको छ न्यौपानेले भने, ‘नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रतिबर्ष २ हजार १६९ जना महिला संक्रमित हुने गरेका छन् भने, प्रतिबर्ष १ हजार ३१३ जनाको मृत्यु हुने गरेको छ ।’


एचपिभी विरुद्धको खोप सतप्रतिसत प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यस बर्ष राष्ट्रिय खोप अभियानका रुपमा संचालन गरिएको एचपिभी खोप अर्को बर्षदेखि नियमित खोपका रुपमा संचालन गरिने भएको छ । अर्को बर्षदेखि कक्षा ६ मा अध्ययनरत र विद्यालय भन्दा बाहिर रहेका १० बर्षका किशोरीहरुलाइ मात्र यो खोप संचालन गरिने बताइएको छ । जीवनमा एक पटक लगाए पुग्ने एचपिभी खोप यस बर्ष विश्वका ९८ देशमा अभियानका रुपमा खोप संचालन भइरहेको बताइएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंहको अध्यक्षतामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण परिवार नियोजन निरिक्षक प्रेम न्यौपाने र खोप फोकल पर्सन शान्त बहादुर बुढाथोकीले गरेका थिए भने, कार्यक्रम संचालन सिनियर अनमी जया खड्काले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया