
सहदेव बस्नेत ।
जाजरकोट, चैत १६ गते ।
भेरी नगरपालिका — ८ बुरुङ्गेका उमेरले सात दशक नाघेका भद्रे खत्री शुक्रबार घरको छेउमा बसेर आँगनमै रहेको धारा हेरिरहनु भएको थियो । लामो समयको प्रयासपछि घर नजीकको धारामा ठूलो पानी आएको देखेर खत्रीको मुहारमा खुशीको सीमा थिएन् ।
‘गाउँमा पहीले खानेपानीको निकै समस्या थियो, उहाँले भन्नु भयो , ‘हामी पहिले पोखरी, रअखोला,धुयामुल बाट ल्याएर खान्थ्यौं, अहिले घरमा धारा आएको छ, हामी निकै खुशी भएका छौं ।’ ‘मैले यसरी घरको छेउमै पानीको धारा आउला भन्ने सोचकै थिईन्, पानीका लागि हामीले धेरै समस्या भोग्यौं, ‘अव बर्षौ देखिका दुःख हटे खत्रीले थप्नु भयो।’
सोही टोलकी नानकली खत्रीको मुहारमा पनि उस्तै खुशी छ । बर्षौ देखि पानीको समस्या झेल्दै आएको स्मरण गर्दै, उहाँले भन्नु भयो ‘कहिले रअखोला पुग्यौं, पानीको ट्याङ्कीमा लाइन बस्यौं, घण्टौं विताएर एक गाग्री खानेपानी ल्याउने गथ्र्यौं ।’ अहिले घरको छेउमै पानी आउँदा निकै खुशी भएको उहाँको भनाई छ ।
अर्की स्थानीय मिना कार्की खत्री भन्नु हुन्छ, ‘खानेपानीको लाइन बनाउन धेरैपटक गए, पानी नियमित नआउने, निकै दुःख पाएका थियौं, तर अहिले खानेपानीको निकै सहज भएको छ,२४ सैं घण्टा धारामा पानी आउँछ ।’ खानेपानीका धारा घरघरमा भएपछि सरसफाई, तरकारी लगाउन समेत सहज भएको मिनाले बताउनु भयो ।
उनीहरु त केही उदाहरण मात्रै हुन् । बुरुङ्गेका दुई सय नागरिकको घरमा खानेपानीको धारा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका स्थानीय बासिन्दाले अब सहज रूपमा पानी पिउन पाउने भएका छन् । भेरी नगरपालिकाको समन्वय र गोर्खा वेल्फेर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँका हरेक घरमा धारा जडान गरिएको छ । उपभोक्ताले १ लाख ७५ हजार मर्मत संभार खर्च उठाएका थिए । बुरुङ्गे खानेपानी तथा सरसफाई आयोजनाको अगुवाईमा निर्माण गरिएको योजनामा एक करोड ३५ लाख लागतमा निर्माण गरिएको गोर्खा वेल्फेर टष्ट्रका प्रतिनिधीहरुले जानकारी दिए ।

परियोजना हस्तान्तरण कार्यक्रमलाई वडाध्यक्ष वीरबहादुर चन्दले एउटा एतिहासिक र बुहत खुशीको दिन भएको बताउनु भयो। वस्तीमा पानी पु¥याउने बर्षौ देखिको आफ्नो सपना पुरा भएको वडाअध्यक्ष चन्दको भनाई छ । उनले भने, ‘हामीले बर्षौ देखि वस्तीमा खानेपानी पु¥याउने सपना देखेका थियौं, त्यो आज पुरा भएको छ, हामी अत्यन्तै हर्षित भएका छौं ।’ आर्थिक तथा प्राविधिक सहयोग गर्ने गोर्खा वेल्फेर ट्रष्ट, समन्वय गर्ने भेरी नगरपालिकालाई वडाध्यक्ष चन्दले धन्यवाद व्यक्त गर्दै यस परियोजनालाई दिगो बनाउन स्थानीयहरुलाई आग्रह समेत गर्नु भयो ।
भेरी नगरपालिका प्रमुख सीता जैसीले नागरिकमा आएको खुशीले जनताको लागि काम गरेको अनुभुति भएको बताउनु भयो । खानेपानीको पहुँच सँगै महिलाहरुको कार्यवोझ घट्ने अपेक्षाा आफुले राखेको उपप्रमुख जैशीले व्यक्त गर्नु भयो ।
गोर्खा वेल्फेर ट्रष्टका प्राविधिकहरुका अनुसार, ‘उच्च गुणस्तरको पाइपलाइन प्रयोग गरी दीर्घकालीन समाधानका लागि काम गरिएको छ ।’ अब स्थानीयलाई स्वच्छ र भरपर्दो पानी उपलब्ध हुनेछ ।
खानेपानीको सुविधा पुगेपछि बस्तीमा स्वास्थ्य र सरसफाइ सुधार हुने, महिलाहरूको श्रम घट्ने तथा बालबालिकाको अध्ययनमा समय दिन सहज हुने अपेक्षा गरिएको छ । गाउँमा खानेपानीको समस्या समाधानका लागि रातदिन खटिएर काम गरेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर शाहीले बताउनु भयो ।

यस्तै, गोर्खा वेल्फेर ट्रष्टले स्थानीय जनविकास आधारभुत विद्यालयमा खानेपानीको धारा र शौचालय निर्माण गरिदिएको छ । अपांगता भएका विद्यार्थीहरुलाई समेत लक्षित गरी बालबालिका मैत्री धारा र शौचालय निर्माण गरिएको छ ।

जनसन्देश खबर । १६ चैत्र २०८१, शनिबार १५:३७