एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख ११ गते । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज उद्घाटन एवं हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट सङ्कलित २५ हजार अस्ट्रेलियन डलर र स्थानीयको जनश्रमदान र विद्यालयको को समेत सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

उक्त भवनको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गर्नु भएको हो । विसं २०८० मा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अष्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो ।

 

अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताउनु भयो। “अष्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो”, उहाँले भन्नु भयो “पछि विद्यालय निर्माणका लागि पनि सहयोग सङ्कलन गरिएको थियो ।”

उक्त भवनमा चालु शैक्षिक सत्रबाट भवनमा पठनपाठन पनि सुरु भइसकेको छ । “यो सहयोगका लागि अष्ट्रेलियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिगरुको योगदान छ, आगामी दिनमा पनि यसप्रकारको सहयोग जारी रहनेछ”, अध्यक्ष पोखरेलले भन्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अष्ट्रेलियालाई धन्यवाद दिनु भयो । त्यस्तै भेरी नगरपालिका शिक्षा साखाका प्रास चित्र वहादुर वली, भेरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष भिम वहादुर कार्की, विद्यालयका प्रअ भिम वहादुर चन्द, यार्सन जाजरकोटका अध्यक्ष अमर स्.िह राठौर लगायतले विद्यालय भवन निर्माणमा सहयोग गरेकोमा एनआरएनए अष्ट्रेलियाको उच्च प्रशंसा गर्नु भएको थियो । त्यसअवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेलल, यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बसनेत लगायत विद्यार्थी र स्थानीयको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया