
सहदेव बस्नेत
जाजरकोट, वैशाख १७ गते । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकामा पहिलो आँखा उपचार केन्द्र स्थापना भएको छ । नगरपालिका र नेपाल रेडक्रस द्वारा संञ्चालित आँखा अस्पताल सुर्खेतको सहकार्यमा वडा नं ५ बडावन फुर्किचौरमा सोमबार आँखा उपचार केन्द्र स्थापना भएको हो ।
आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग तथा छेडागाड नगरपालिकाको आर्थिक सहयोगमा उक्त उपचार केन्द्र एक कार्यक्रमका बीच नगर प्रमुख रत्न बहादुर खड्काले उदघाटन गर्नु भएको छ ।
नियमित आखाँ जाचँ गरी आँखा स्वास्थ्यमा सुधार ल्याउनु, समयमै रोग पहिचान गर्नु, जनचेतना अभिबृद्धि गर्नु, चश्मा तथा लेन्स सम्बन्धी सेवा उपलब्ध गराउनु उपचार केन्द्रका प्राथमिक उद्देश्य रहेको नगर प्रमुख खड्काले बताउनु भयो । जाजरकोट शाखाका सभापती हरि बहादुर बस्नेतले आँखा उपचार केन्द्रबाट प्रवाह हुने सेवाहरुलाई भरपर्दो र विश्वसनीय बनाउन दक्ष जनशक्ति र उपकरणहरुको बन्दोबस्त गर्दै छिट्टै तह बृद्धिका लागि सबैले हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।
उक्त आखाँ उपचार केन्द्र स्थापना संगै नगरपालिकाको सबै वडाहरुबाट शिविर मार्फत स्क्यानिङ भएका १ सय ५० जना आमाबुवाको मोतिविन्दु शल्यक्रिया शिविर समेत शुरु भएको छ । नेत्र विशेक्षज्ञ डा मञ्चु पन्तको टिमले शल्यक्रिया गरिएको छ । सुर्खेत आँखा अस्पताल संञ्चालन समितिका संयोजक रामलाल आर्चायले यसरी शल्यक्रिया भएका बीरामीहरु एक महिना पछि सुर्खेत गएर फ्लोअप गर्नु पर्ने विगतको बाध्यता यस पटक भने यसै उपचार केन्द्रबाट हुने बताउनु भयो । आँखा उपचार केन्द्र स्थापना सँगै पश्चिम जाजरकोटवासीलाई आँखा सम्बन्धी उपचारमा सहजता आउने विश्वास लिईएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य खडक बहादुर बुढा, नगर उप प्रमुख चन्द्र बहादुर थापा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य एंव सुर्खेत आँखा अस्पताल संञ्चालन समिति संयोजक रामलाल आर्चाय, जाजरकोट शाखाका सभापती हरि बहादुर बस्नेत, प्रमुख प्रशासकिय अधिकृत हेमकुमार ढकाल, आँखा उपचार केन्द्र जाजरकोटका इन्चार्ज प्रदीपजंग शाह, राजनितिक दलका प्रतिनिधी तथा वडा अध्यक्ष कार्यपालिका सदस्य, संञ्चारकर्मी लगायत नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

जनसन्देश खबर । १७ बैशाख २०८२, बुधबार ०८:५९